जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा सहभागिहरुलाई निर्वाचन खर्च बुझाउन आग्रह गरेको छ । निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जिल्लाको तीन वटै पालिकाको विभिन्न तहमा भाग लिएकाहरुलाई जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले आज एक सुचना जारी गर्दै निर्वाचन खर्च बुझाउन आग्रह गरेको हो ।
निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिन भित्रमा निर्वाचनमा भाग लिएका सबैले अनिवार्य रुपमा निर्वाचनको खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर अहिलेसम्म रुकुम(पूर्व) मा स्थानीय निर्वाचनमा भाग लिएका कसैले पनि निर्वाचन खर्च नबुझाएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । यस जिल्लामा जेठ ४ गते निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भइसकेको थियो ।
यहि मितिलाई हेर्ने हो भने निर्वाचनमा भाग लिएका यस जिल्लाका विभिन्न व्यक्तिहरुको निर्वाचन खखर्च बुझाउने समय सकिदै गएको छ । जिल्ला निर्वाचन अधिकारी ओलीले छिटो भन्दा छिटो स्थानीय निर्वाचनका प्रत्येक उम्मेद्वार वा निजका प्रतिनिधिले निर्वाचन अवधिमा भएको सम्पूर्ण खर्चको विवरण स्थानीय तह निर्वाचन नियमावली २०७३ को अनुसूचि ३० बमोजिमको ढाँचामा जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आग्रह गर्नुभएको छ ।
कोहि उम्मेद्वारले तोकिएको अवधिभित्र निर्वाचन खर्च विवरण नबुझाएमा कानुनबमोजिम भई जाने जानकारी पनि जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी गराएको छ ।