![](https://mulukpati.com/wp-content/uploads/2022/06/sisne-rmm.jpg)
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले यहि जेठको मसान्त भित्र पालिकास्तरीय विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने भएको छ । गाउँपालिकामा आज बसेको पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठकले यहि जेठ मसान्त भित्र पालिकास्तरीय विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने निर्णय गरेको छ ।
मनसुनको समय नजिकिदै गएको र अब विभिन्न मनसुनजन्य घटना हुन सक्ने भएकाले त्यस्ता घटना हुन नदिन र घटना भइहाले त्यसबाट न्यून क्षती कसरी बेहोर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै प्रतिकार्य योजना निर्माण गर्न लागिएको हो । जिल्लास्तरमा यसअघि नै विपद प्रतिकार्य योजना निर्माण भइसकेको छ भने केहि समय अघि मात्र मनसुन आपतकालीन कार्ययोजना पनि निर्माण भएको छ । सबै पालिकालाई विपद प्रतिकार्य योजना निर्माण गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो । सोहिअनुसार सिस्ने गाउँपालिकाले विपद प्रतिकार्य योजना निर्माण गर्न लागेको हो ।
यस्तै बैठकले केहि दिन अघि मात्र आएको वर्षा र हावाहुरी, चट्याङको कारण केहि घर, विद्यालयमा, स्वास्थ्य केद्रको भवनमा पुग्न गएको क्षतीको विवरण संकलन गर्ने र आवश्यकताको आधारमा सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय भएको छ । बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष एवम् पालिकास्तरीय विपद व्यवस्थापन समितिका संयोजक कृष्ण रेग्मिले प्राकृतिक विपदको कारण विभिन्न ठाउँमा भएको क्षतीको विवरण पालिकाका प्राविधिकलाई एक साताभित्रमा संकलन गर्न लगाई छिटो आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।
पालिकामा विपद व्यवस्थापन सम्बन्धिको नीतिगत योजनालाई मूर्त रुप दिने कार्यको सुरुवात भएको बताउदै अध्यक्ष रेग्मिले कार्यान्वयनमा पनि उत्तिकै सक्रिय रहने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष गोपाल रउलेले पनि विपद प्रतिकार्य योजनालाई पूर्णता दिएर काम गर्ने बताउनुभयो ।
सिस्ने गाउँपालिकाका अध्यक्ष एवम् विपद व्यवस्थापन समितिका संयोजक कृष्ण रेग्मिको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी सुदन आचार्य, जिल्ला उद्योग बाणीज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, सिस्ने गाउँपालिकाका निवर्तमा उपाध्यक्ष गोबरधन बुढालगाएत विभिन्न राजनीतिक दल, रेडक्रमसका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बैठकको सहजिकरण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले गर्नुभएको थियो ।