रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा कक्षा ६ मा लागु गरिएको स्थानीय पाठ्यपुस्तकमा पुनः हेरफेर हुने भएको छ । पाठ्यपुस्तक परिमार्जनको विषयमा छलफल गर्न आज गाउँपालिकामा पालिका भित्रका विद्यालयका प्रधानाध्ययापकहरुको बैठक बसेको छ । २०७७ सालबाटै कक्षा ६ मा लागु भएको स्थानीय पाठ्यपुस्तकलाई पछिल्लो घटना अप्डेटसँगै परिमार्जन गर्न लागिएको हो ।

पुस्तकको साइज घटाउनुका साथै यस अघि पठनपाठन भइरहेको पाठ्यपुस्तकमा २०६८ सालको जनगणनाअनुसारको जनसंख्या थियो भने २०७८ सालको जनगणनाअनुसारको सिस्नेको जनसंख्या अध्यावधिक गर्ने र केहि शब्दमा सुधारलगाएतका काम गर्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । अबको एक दुई दिनमै यी कुराहरुलाई परिमार्जन गरि पाठ्यपुस्तक छपाईको काम गर्ने उहाँले बताउनुभयो ।

सिस्ने गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा २०७७ बाट कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागु गरिएको हो भने २०७८ मा कक्षा ७ र ७९ अर्थात अहिलेको नयाँ शैक्षिक सत्रबाट कक्षा ८ मा पनि स्थानीय पाठ्यक्रम लागु हुने शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो । उहाँकाअनुसार यी तीनवटै कक्षाको पाठ्यक्रम भने २०७६ मै तयार पारिएको थियो । २०७७ मै लागु गरिएको कक्षा ७ को स्थानी पाठ्यपुस्तक भने यस वर्ष छपाई सुरु गरिएको छ । पहिलो वर्ष पाठ्यक्रमबाटै पठनपाठन सञ्चालन गरिएको प्रमुख बुढाले बताउनुभयो ।

कक्षा ८ को पनि नयाँ शैक्षिक सत्रको साउन महिनापछि मात्र पाठ्यपुस्तक तयार पारिने छ त्यसभन्दा अघि काठ्यक्रमबाटै पठनपाठन सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको बैठक तथा छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रमका संयोजक दुर्गा गौतमसँगै गाउँपालिकाभरीका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । शिक्षा शाखा प्रमुख बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्राविधिक सहायक नरेन्द्र ओलीले गर्नुभएको थियो ।