रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सिस्ने ४ दादीङकै १५ वर्षका आकाश बुढा र सोहि ठाउँकै ५० वर्षिया नन्दि बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवम् सुचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षका रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था मध्यम रहेको छ । उहाँको रुकुम(पूर्व) अस्पताल उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भन्नुभयो, “ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन् । तर दुईदुई जनाको ज्यान गएको छ । ट्याक्टरको पछाडिको भागमा बसेका उनिहरु आत्तिएर हाम फालेको नी हुन सक्छ, झर्ने बेलामा आत्तिएको नी हुन सक्छ ।” चालक फरार रहेकाले चालकको खोजी कार्य भइरहेको र घटनाको पनि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो ।