
रुकुम(पूर्व) मा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठको महिना सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन् । पाठ्यपुस्तक नै नआएपछि अधिकांस विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो ।
रुकुम(पूर्व) मा एक सय १६ वटा सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा एक देखि ३ सम्मको किताब पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुम(पूर्व) का प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उहाँले बताउनुभयो । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ ।
रुकुम(पूर्व) मा विद्यार्थी संख्या २० हजारको हारहारीमा छ । तर कितात भने न्यून मात्रामा आएको छ । आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ । नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो ।
भूमे गाउँपालिकामा पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताउनुभयो । कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्तक नै चेन्ज भएको कारण पठनपाठन हुन नसकेको उहाँले बताउनुभयो । विद्यार्थीहरु भने विद्यालयमा आइरहेका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतीपय विद्यालयमा किताब आको छैनन् भनेर शिक्षकहरु घरतीर बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभएको छ ।