रुकुम(पूर्व) मा जिल्ला समन्वय समिति निर्विरोध भएको छ । ९ सदस्यीय जिल्ला समन्वय समितिमा ९ जनाको मात्र उम्मेद्वारी परेको थियो । आज दावि विरोध, उजुरी पनि शुन्य भएपछि यस जिल्लामा जिल्ला समन्वय समिति निर्विरोध भएको हो । यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध हुनुभएको छ ।

श्रेष्ठ माओवादी केन्द्रबाट हुनुहुन्छ भने केसी नेकपा एकिकृत समाजवादीबाट हुनुहुन्छ । एकिकृत समाजवादीको समन्वयमा एक मत नभएपनि चुनाव अघि गरेको सहमतीअनुसार केसी उपप्रमुखमा आउनुभएको हो । प्रमुख सहित अन्य ७ जना सदस्य सबै नेकपा माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरुमा महिला सदस्यमा सिस्ने ७ बाट बिन्दु रावल, भूमे ३ बाट विष्णु रोका, पुथा उत्तरगंगा गाउँपालिका १० बाट प्रतिमा पुन, दलित तथा अल्यसंख्यकमा पुथा उत्तरगंगा गाउँपालिका ८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा ३ बाट बलकर्म बुढा, भूमे ७ बाट महिमान रोका र सिस्ने ३ बाट लालजित बुढा हुनुहुन्छ । रुकुम(पूर्व) मा तीन वटा पालिका छन् । समन्वय समितिमा मतदानको लागि यहाँको मतसंख्या ६ थियो ।

जसमा नेकपा माओवादी केन्द्रका ५ जना र नेकपा एमालेबाट एक जना थिए । २० गते समन्वयको लागि मनोनयन दता गरिएको थियो भने २१ गते दाबी, विरोध उजुरीसँगै नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुम(पूर्व) मा जिल्ला समन्वय समिति निर्विरोध भएपनि घोषणा भने भइसकेको छैन् । समन्वयको लागि चुनावको मिति जेठ २४ गते तोकिएको थियो । अब त्यसै दिन औपचारिक रुपमा जिल्ला समन्वय समितिको घोषणा गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।