रुकुम(पूर्व) मा विद्यार्थीहरु यार्सागुम्बा संकलन गर्न गएपछि विद्यालयहरु बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १, २ का सबै विद्यालय र ३ नम्बर वडाका केहि विद्यालयका विद्यार्थी यार्सा संकलनको लागि बुकी पाटन गएपछि विद्यालयहरु बन्द भएको शिक्षा विकास तथा समन्वय एकाई रुकुम(पूर्व) का प्रमुख तिलक गौतमले जानकारी दिनुभयो ।
यस क्षेत्रका विद्यालय यार्सा सिजन सुरु भएसँगै जेठको ७ गतेबाट बन्द भएको पुथाउत्तरगंगा गाउँपालिका १ मा रहेको पुथा हिमालय मावी मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले बताउनुभयो । यस क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै विद्यार्थीको उपस्थिती विद्यालयमा नहुदा विद्यालय बन्द गर्नुपर्छ । यससँगै शिक्षकहरु पनि यार्सा संकलनको लागि पाटन जाने गरेको प्रधानाध्यापक पुनले बताउनुभयो । उहाँकाअनुसार रन्मा, मैकोट, पेल्मा क्षेत्रका विद्यालयमा वर्खे बिदालाई कटाएर यार्सा सिजनमा मिलान गर्ने गरिएको छ ।
यार्सा संकलनको लागि विद्यालय बन्द हुने र फेरी बर्खे बिदा गर्दा कोर्स पुरा नहुने भन्दै यस क्षेत्रमा बर्खे बिदालाई कटाएर यार्सा सिजनमा बिदा दिने गरिएको प्रधानाध्यापक पुनको भनाई छ । जिल्लाको माथील्लो क्षेत्रका नागरिकहरुको रोजीरोटी भनेकै यार्सा संकलन, बिक्रि, वितरण हो । एक सिजनमा यार्सा संकलन गरेर वर्षभरीको खर्च धान्ने समुदाय भएकाले यस बेला विद्यालय नै बन्द गरेर भएपनि शिक्षक विद्यार्थी यार्सा संकलन गर्न जाने गरेको मैकोटका विकास पुनले बताउनुभयो । अहिले माथिल्लो क्षेत्रका बस्तिमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुने गरेको छ । यार्सा संकलनको लागि सबै पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको पुनले बताउनुभयो ।
यार्सा सिजनको लागि बन्द भएका गाउँपलिकाका यी तिन वटा वडाका विद्यालयहरु यहि जेठ २७ गतेबाट खुल्ने छन् । विगतका वर्षहरुमा जेष्ठ पहिलो साताबाट बन्द भएका विद्यालय असार १० मा मात्र खुल्ने गरेका थिए । यस वर्ष यार्सा कम भएको कारण विद्यार्थीहरु अलिछ छिटो गाउँ झर्ने क्रम चलिरहेको कारण जेठ २७ बाटै विद्यालय खोल्ने निर्णय गरेको विद्यालयहरुले बताएका छन् । पुथाउत्तरगंगा गाउँपालिकाको पुपाल लेक, पूर्वाङ, फुलबारी, दङ्ला, पानीदाल, अरगिजा लगाएतको क्षेत्रमा मानिसहरु यार्सा टिप्न जाने गरेका छन् ।