वर्षातको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपतकालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद व्यवस्थापन समतिकिो बैठक बसी रुकुम(पूर्व) मा मनसुन आपतकालीन प्रतिकार्य योजना निर्माण गरिएको हो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षातको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ ।

यो समयमा पहिरो, हावाहुरी, च्याङको पूर्व जोखिम मुल्याङ्कन गरी अन्धाधुन्द खनिएका सडकहरुको कारण पहिरो जाने अवस्था रहेको छ । वर्षातमा पहिरोको कारण मुख्य राजमार्गको साथै सहायक सडकहरुसमेत अवरुद्ध भई यातायात प्रभावित हुने गरेको छ । मनसुनको कारण उत्पन्न हुन सक्ने प्रकोपबाट हुने जनधनको क्षतीलाई न्यूनिकरण गर्न, सम्भावित प्रकोपको अवस्थामा राहत, उद्धार र पुनः स्थापनाको कार्य प्रभावकारी रुपमा सम्पादन गर्नको लागि मनसुन प्रतिकार्य योजनालाई आवधिक गरि जिल्लाको आपतकालीन कार्ययोजना २०७९ तयार पारिएको विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

यस कार्ययोजनामा मनसुनको समयमा हुन सक्ने प्रकोपको अवस्थामा पप्रभावकारी र यथार्थ सुचना संकलन गर्ने, खोज तथा उद्धारको कार्य शिघ्र र प्रभावकारी बनाउने, विपदको समयमा राहत सामाग्रीलाई समचित परिचालन गर्ने, पून स्थापना कार्यलाई सहज बनाउने कुराहरु समेटिएका छन् । यस्तै विपदको अवस्थामा स्वच्छ खानेपानीको आपूर्ती, उचित सरसफई र उपयुक्त स्वास्थ्य र पोषण व्यवस्था मिलाउने, जोखिममा पर्न सक्ने वर्गको सुरक्षाको प्रत्याभूत गर्ने, सञ्चारको उपयुक्त प्रबन्ध गर्ने, विद्यार्थीमार्फत मनसुनको समयमा सुरक्षित हुने कुराको प्रचार गर्ने, सबै स्थानीय विपद व्यवस्थापन समितिलाई मनसुनजन आपतकालीन कार्ययोजना निर्माण गर्न सहजिकरण गर्ने कुराहरु समेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

मनसुन प्रतिकार्य योजनामा जिल्लास्थित सबै सुरक्षा निकाय, पालिका, जिल्ला समन्वय समिति, रेडक्रश, सरकारी कार्यालय, स्वास्थ्य संस्था, उद्योग बाणीज्य संघसँगै गैरसरकारी संघसंस्था, राजनितिक दल, पत्रकार, नागरिक समाजको कार्य विभाजन गरिएको छ । विपद पूर्व र विपदको घटना भइसकेपछि अपनाउनुपर्ने सावधानिको बारेमा पनि आपतकालिन कार्ययोजनामा उल्लेख गरिएको छ ।