रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ र ५ का विद्यालय आजबाट खुलेका छन् । यार्सा सिजन सुरु भएसँगै बन्द भएका यी दुई वडाका दुई वटा विद्यालय आजबाट खुलेका हुन् । विद्यार्थीहरु यार्सागुम्बा संकलन गर्न बुकी पाटन गएपछि विद्यालयहरु बन्द भएका थिए । जेठ ७ गतेबाट वडा नम्बर १, २, ३ र ५ का ५ वटा विद्यालय बन्द भएका थिए । ती मध्येमा आजबाट ३ नम्बर वडामा रहेको आधारभूत विद्यालय रन्मा र ५ मा रहेको देउराली मावि हुकाम सञ्चालनमा आएका हुन् ।
१ नम्बर वडामा रहेको पुथा हिमालय मावि मैकोट, जनता आधारभूत विद्यालय पुसर र २ नम्बर वडामा रहेको हिमालय आधारभूत विद्यालय पेल्मा भने अझै बन्द छन् । यी तीन विद्यालय असारको २ गतेबाट सञ्चालनमा आउने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । यस क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै जेठको पहिलो हप्ताबाट विद्यार्थीको उपस्थिती विद्यालयमा नहुदा विद्यालय बन्द गर्नुपर्छ । यससँगै शिक्षकहरु पनि यार्सा संकलनको लागि पाटन जाने गरेको पुथा हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले बताउनुभयो । उहाँकाअनुसार रन्मा, मैकोट, पेल्मा, हुकाम क्षेत्रका विद्यालयमा वर्खे बिदालाई कटाएर यार्सा सिजनमा मिलान गर्ने गरिएको छ ।
यार्सा संकलनको लागि विद्यालय बन्द हुने र फेरी बर्खे बिदा गर्दा कोर्स पुरा नहुने भन्दै यस क्षेत्रमा बर्खे बिदालाई कटाएर यार्सा सिजनमा बिदा दिने गरिएको प्रधानाध्यापक पुनको भनाई छ । जिल्लाको माथील्लो क्षेत्रका नागरिकहरुको रोजीरोटी भनेकै यार्सा संकलन, बिक्रि, वितरण हो । एक सिजनमा यार्सा संकलन गरेर वर्षभरीको खर्च धान्ने समुदाय भएकाले यस बेला विद्यालय नै बन्द गरेर भएपनि शिक्षक विद्यार्थी यार्सा संकलन गर्न जाने गरेको मैकोटका विकास पुनले बताउनुभयो ।
जेठको पहिलो साताबाट असार पहिलो सातासम्म पुथा उत्तरगंगाको माथिल्लो क्षेत्रका बस्तिमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुने गर्छ । यार्सा संकलनको लागि सबै पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको पुनले बताउनुभयो । यार्सा सिजनको लागि बन्द भएका गाउँपलिकाका चार वटा वडाका विद्यालयहरु यहि जेठ २७ गतेबाट खुल्ने भनिएपनि विद्यार्थीहरु सबै पाटनबाट झरिनसकेको कारण १ र २ का विद्यालय केहि समय ढिला खुल्ने भएको शिक्षा शाखा प्रमुख खड्काले बताउनुभयो ।
जिल्लाको माथिल्लो क्षेत्रमा सबै भन्दा राम्रो यार्सा पाइने गर्छ । पुथाउत्तरगंगा गाउँपालिकाको पुपाल लेक, पूर्वाङ, फुलबारी, दङ्ला, पानीदाल, अरगिजा लगाएतको क्षेत्रमा मानिसहरु यार्सा टिप्न जाने गरेका छन् ।