रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा बजार अनुगमन गरिएको छ । वडाको नायगाड र तिप्तरा बजारमा अनुगमन गरिएको हो । बजार व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

आइतबार नायगाड र तिप्तारा १७ वटा पसलको अनुगमन गरिएको छ । होटेल, मदिरा, फेन्सी, किराना, इलेक्ट्रोनिक, भाडापसल, सुनचादी, कस्मेटिक पसल अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उहाँकाअनुसार अनुगमनको क्रममा कुनै पनि पसलमा मुल्यसुची नराखिएको पाइएको छ । यस्तै अधिकांस पसल दर्ता नभएको, साइनबोर्ड नराखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

अनुगमन गरिएको ठाउँमा एउटै पसलमा थरिथरिका सामानहरु राख्ने गरेको पनि पाइएको छ । एउटै पसलमा फेन्सिका सामानदेखी लिएर खाद्यान्न, कस्मेटिक, मदिरालगाएतको सामानहरु राखेको पाइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । यस्तै पुथात्तरगंगा गाउँपालिका १४ देउखोलाका दुई वटा पसलमा पनि अनुगमन गरिएको छ । देउखोलामा एउटा होटेल र एउटा खाद्यान्न पसलको अनुगमन गरिएको हो ।

अनुगमणको क्रममा सबै होटेल तथा पसल व्यवसायीहरुलाई व्यवसाय दर्तामा लैजान, होटेलमा सरसफाई गर्न, साइनबोर्ड र मुल्यसूचि अनिवार्य राख्न सुझाव तथा निर्देशन दिइएको छ । अनुगमनमा निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यसहित जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, जिल्ला सहायक न्याधिवक्ता प्रकाश शर्मा पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डागी, २ नम्बर वडा सदस्य नविना मल्ल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।