रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा समुदायस्तरमा कानुनी कुराहरु सिकाइएको छ । समुदायसँग सरकारी वकिल कार्यक्रम मार्फत समुदायस्तरका नागरिकलाई कानुनी कुराहरु सिकाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता प्रकाश शर्मा पौडेलले आइतबार सिस्ने २ नायगाड वडा कार्यालयको हलमा त्यहाँका नागरिकलाई कानुनी कुराहरु सिकाउनुभएको थियो । उहाले नेपाल सरकार बादी भइ चल्ने फौजदारी मुद्दा कसुरको बारेमा जानकारी गराउनुभएको छ । कर्तव्य ज्यान, चोरी, जबर्जस्ति करणी, बाल विवाह, बहु विवाह, लागू औषध सम्बन्धि कसुरको बारेमा समुदायलाई पढाउने तथा जानकारी गराएको सहायक जिल्ला न्यायधिवक्ता पौडेलले बताउनुभयो । यस प्रकारको कार्यक्रमले समुदाय स्तरमा कानुनी ज्ञान बढ्ने र समाजमा हुने अपराधीक घटनाहरुमा कमि आउने अपेक्षा गरिएको छ ।

जिल्ला सरकारि वकिलको कार्यालयले यसअघि पनि मैकोटमा यो कार्यक्रम सञ्चालन गरेको थियो भने विद्यालय स्तरमा पनि सरकारी वकिल कार्यक्रम सञ्चालन गरेको सहायक जिल्ला न्यायधिवक्ता पैडेलले बताउनुभयो । पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने २ का वढाध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।