रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा डिभिजन वन कार्यालयले घुम्ती सेवा प्रवाह गरेको छ । कार्यालयले नायगाडमा पुगेर पाँच ओटा कबुलियती वनको स्थलगतब कार्ययोजना स्वीकृत गरेर हस्तान्तरण गरेको छ । साथै सम्झौता पनि गरिएको छ । जिविकोपार्जन सुधारको लागि सिस्ने २ का नौ मेला, हिमाली, शितल, ढुङगा लोट्ने र बाटुली कबुलियती वन उपभोक्ता समितिको कार्ययोजना स्वीकृत, हस्तान्तरणसँगै सम्झौता गरिएको हो ।
यी कबुलियती वन समुहले वन कार्यालयबाट २५ हजारका दरले अनुदान पाउने छन् । उनिहरुले टिम्मुर लगाउने छन् । बिरुवा भने वन कार्यालयले उपलब्ध गराउने डीभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताउनुभयो । उनिहरुले जग्गा तयार पारेर बिरुवा रोपेपछी त्यसैको आधारमा २५ हजार अनुदान भुक्तानी दिने पनि उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले वन कार्यालय रुकुमकोटबाट पाउने सेवा घुम्ती सेवा मार्फत गाउँमै गएर प्रदान गरेको भन्दै वन कार्यालयलाई धन्यवाद दिनुभएको छ । सडक संजालसँग नजोडिएको यस क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै सञ्चालन गरिएको घुम्ती सेवालाई निरन्तरता दिन आग्रह गर्दै उहाले अन्य विकट क्षेत्रमा पनि यो सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
वडाध्यक्ष कृष्ण खड्काले वडा कार्यालयमै आएर घुम्ती सेवामार्फत नगरिकलाई सेवा प्रदान गरेको भन्दै वन कार्यालयलाई धन्यवाद दिनुभएको छ । यो कार्यक्रमलाई निरन्तरता दिन पनि उहाले आग्रह गर्नुभयो । आवश्यकताको आधारमा यस कार्यक्रमलाई निरन्तरता दिने डिभिजनल वन अधिकृत खड्काले अताउनुभयो । चालू आर्थिक वर्षमै यस्तै कार्यक्रम जिल्लाको अर्को एक ठाउँमा पनि सञ्चालन गरिने उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय रुकुम(पूर्व)का डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको प्रमुख र २ नम्बर वडाध्यक्ष कृष्ण खड्काको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, सहायक जिल्ला न्याधिवक्ता प्रकाश शर्मा पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डागी, २ नम्बर वडा सदस्य नविना मल्ल लगाएत कबुलियती वनका प्रतिनिधि र स्थानियको उपस्थिति रहेको थियो ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुर्णप्रसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका रेन्जर विश्व केसिले गर्नुभएको थियो ।