रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले १० हजार अलैँचीको बिरुवा वितरण गर्दै छ । कार्यालयले २ नम्बर वडामा खच्चडमार्फत ढुवानी गरेर अलैँचीको विरुवा वितरण गर्न लागेको हो । आइतबार गाडिमार्फत पुथाउत्तरगंगा गाउँपालिकाको १४ नम्बर वडा देउखोलामा पुर्याइएका १० हजार अलैँचीका बिरुवा सोमबार खच्चडमार्फत सिस्ने २ नम्बर वडामा पुर्याइएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सिस्ने २ पुर्याइएका १० हजार अलैँचीका बिरुवा एउटा सामुदायिक वनलाई हस्तान्त्रण गरिने छ । त्यहाँस्थित टाटे सामुदायिक वनलाई सबै विरुवा हस्तान्त्रण गर्ने र त्यसमा आबद्ध त्यहाँका ३० घरधुरीले सामुदायिक वनमा अलैँचीको विरुवा रोप्ने डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो । सामुदायिक वनको कुल क्षेत्रफल ५२.६ हेक्टर रहेको छ भने त्यसको १ हेक्टर क्षेत्रफल वनमा अलैँचिको विरुवा रोपिने डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । पछि लाभ पनि यहि ३० घरधुरीले लिनेछन् ।

यस्तै कार्यालयले जिल्लाभर यसै सिजनमा मात्र २२ हजार बढी अन्य प्रजातीको बिरुवा वितरण गरिसकेको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका नागरिकलाई सल्ला, टुनी, मसाला, टाँकी, बकैनो, चिउरीलगाएत जातका बिरवा वितरण गरिएको उहाँले बताउनुभयो । अहिले पनि धमाधम विरुवा वितरणको काम धमाधम चलिरहेको डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।