
रुकुम(पूर्व) मा यार्सागुम्बा टिप्न पाटन उक्लिएकाहरु बेसी झर्न थालेका छन् । पाटनबाट मानिसहरु बेसी झर्न थालेपछि सुनसान भएका गाउँघरमा पनि चहलपहल बढ्न थालेको छ । यार्सा सिजन सुरु भएसँगै जेठ पहिलो साताबाट सुनसान बनेका पुथाउत्तरगंगा गाउँपालिकाको माथिल्लो क्षेत्रका बस्तिमा यार्सा सिजन सकिएसँगै मानिसहरु गाउँ झर्न थालेपछि चहलपहल बढेको हो ।
पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट, पेल्मा, हुकाम, अर्जल, घुन्मालगाएतका क्षेत्रका नागरिकहरु जेठ पहिलो साता गाउँ नै सुनसान पारि यार्सा संकलन गर्न पाटन उक्लिएका थिए । यो एक महिनाको अवधिमा यार्सा संकलन गरेर मानिसहरु गाउँ झर्ने क्रम चलेको छ । अहिले अधिकांस मानिस गाउँ झरेका छन् भने केहि मानिस झर्ने क्रम जारी रहेको मैकोटका विकास पुनले जानकारी दिनुभयो । विगतका वर्षहरुमा दुई वा साढे दुई महिनासम्म चल्ने यार्सा सिजन यस वर्ष भने पुग नपुग एक महिना मात्र चलेको छ ।
यार्सा उत्पादन घटेको कारण यसपाली मानिसहरु छिटै पाटनबाट झरेको पुनले बताउनुभयो । उहाँकाअनुसार हरेक वर्षको यार्सा सिजनमा पुथा उत्तरगंगा गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाका नागरिकहरु गाउँ नै सुनसान पारेर झोली झ्म्टासहित पाटन उक्लन्छन् । विद्यालय बन्द गरेर शिक्षक विद्यार्थी पनि सिजन सुरु भएपछि यार्सा संकलन गर्न पाटन उक्लिएका थिए ।
एक महिना सुनसान बनेका बस्तिमा अहिले विस्तारै मानिसको चहलपहल बढेको छ । यार्सा उत्पादन घटेसँगै यस क्षेत्रका मानिसहरुको अर्थिक अवस्थामा भने असर परेको छ । यार्सा संकलनबाट वर्षदिनको घर खर्च धान्दै आएका कतीपय नागरिकको उत्पादन घटेसँगै रोजिरोटि गुमेको त्यहाँका स्थानीयले बताएका छन् ।