रुकुम(पूर्व) को भूमे गाउँपालिकामा सञ्चालन गरिएको तेस्रो भूमे कप २०७९ को महिला पुरुष उपाधी बागलुङले जितेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित महत रंगशालामा सञ्चालन गरिएको तेस्रो भूमे कप(महिला/पुरुष भलिबल) मा बागलुङले उपाधी हात पारेको हो ।
जेठ २८ बाट सुरु भएको तेस्रो भूमे कपमा पुरुषमा भलिबलमा ७ समुह र महिलामा ४ समुहले प्रतिस्पर्धा गरेका थिए । जसमा पुरुषतर्फ बाग्लुङको निसीखोला गाउँपालिका पहिलो हुँदै उसले एक लाख नगद पुरस्का हात पारेको छ । बाग्लुङकै ढोरपाटन मल्टी स्पोर ट्रेनिङ सेन्टर दोस्रो हुँदा रुकुम पश्चिम तेस्रो भएको भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिलकुमार रोकामगरले जानकारी दिनुभयो ।
दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ६५ हजार र ३० हजारको साथमा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । महिला भलिबलमा बाग्लुङकै ढोरपाटन मल्टी स्पोर ट्रेनिङ सेन्टर पहिलो हुँदै एक लाख नगद पुरस्कारसहित कप, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै भूमे ९ चुनबाङ दोस्रो हुँदा भूमे १ को धुपी सल्ला युवा क्लव लुकुम तेस्रो भएको छ ।
यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६५ हजार र ३० हजार सहित कप, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । प्रतियोगतामा महिला पुरुष दुवैलाई पुरस्कार समान राखिएको थियो । भूमे गाउँपालिकाको आर्थिक सहयोगमा पालिकामा रहेको युवा विकास केन्द्रको आयोजनामा तेस्रो भूमे कप २०७९ आयोजना गरिएको थियो ।