रुकुम(पूर्व) मा वैशाख ३० मा भएको स्थानीय निर्वाचनको खर्च जम्मा ५० जनाले बुझाएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिन भित्र चुनावमा उम्मेद्वार बनेका सबैले अनिवार्य रुपमा निर्वाचन खर्च बुझाइसक्नुपर्ने प्रावधान छ । तर रुकुम(पूर्व) मा चुनावी मतपरिणाम घोषणा भएको एक महिना बित्दासमेत जम्मा ५० जनाले चुवाव खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

वैशाख ३० को स्थानीय निर्वाचनमा रुकुम(पूर्व) बाट जम्मा ३ सय ८५ जना उम्मेद्वार बनेका थिए । अहिलेसम्म निर्वाचनको खर्च बुझाउनेमा सिस्ने गाउँपालिकाका धेरै रहेका छन् भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकाबाट भने निर्वाचन खर्च बुझाउनेको संख्या न्यून रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । निर्वाचन कार्यालयबाट निर्वाचनको खर्च बुझाउन भनेर जानकारी गराएपनि निर्वाचन खर्च बुझाउनेको संख्या न्यून रहेको निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

उहाँकाअनुसार रुकुम(पूर्व) मा गएको जेठ ३ गते निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको थियो । अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिन आज पुगेको छ । स्थानीय निर्वाचनमा उम्मेद्वार बनेका सबैलाई अनिवार्य रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर निर्वाचनको खर्च बुझाउन निर्वाचन अधिकारी ओलीले आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचन ऐनले समयमै खर्च विवरण बुझाउन आनाकानी गर्ने उम्मेदवारलाई जरिवाना गर्न सकिने भनेको छ ।

तर नियम मिच्नेलाई कारबाही नहुँदा पनि हरेक चुनावमा खर्च विवरण नबुझाउने प्रवृत्ति मौलाउँदै गएको छ । निर्वाचन आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन खर्चको सीमा निर्धारण गरेको छ । निर्वाचन आयोग ऐनले पनि तोकेभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।