रुकुम(पूर्व) को सिस्ने गाउँपालिका १ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ । वडा नम्बर १ को सबै क्षेत्रमा अहिले धमाधम गहुँ बाली भित्र्याउने चटारो चलिरहेको छ । एकातीर बर्खाको समय सुरु हुँदै छ भने त्यहाँका नागरिकलाई गहुँ भित्र्याउने चटारो छ । अहिलेको समयमा गहुँ बाली भित्र्याउने भन्ने कुरा सुन्दा अनौठो लाग्ने गर्दछ । सिस्ने १ नम्बर वडाबासीले सधै असारको महिनामा गहुँ बाली भित्र्याउने गरेको वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जेठको अन्तिम साताबाट वडाबासीहरु गहुँ काट्ने र ओत लाग्ने ठाउँमा ओसार्ने काममा व्यस्त छन् । मंसिरको महिनामा छरेको गहुँ यस ठाउँमा सधै असारमा पाक्छ । वर्षा छिटै सुरु भएको वर्षहरुमा यहाँको गहुँ बारीमै कुहिएर काम नलाग्ने हुन्छ भने वर्षा ढिला सुरु भएको वर्षमा बाली भित्र्याएर ३÷६ महिना धकेल्ने गरेको वडाध्यक्ष बुढाको भनाई छ । सिस्ने १ मा वर्षभरीमा एक बाली मात्र उत्पादन हुँदै आएको छ ।
सिस्ने १ का खेतबारीमा सिजनमा मकै र मकैपछि गहुँ लगाउने अवसर कहिल्यै मिल्दैन । किनकी एक बाली पाक्न लगभग ८÷९ महिनानै लाग्ने स्थानीयले बताएका छन् । वडाध्यक्ष बुढाकाअनुसार अहिले गहुँ लगाएको बारीमा सिमि, तोरी छर्नुपर्छ । कित जग्गानै बाझो राख्नुपर्छ । यहि जग्गामा अर्को वर्ष मकै रोप्न सकिन्छ । अहिले मकै रोपेको जग्गामा अर्को वर्षमात्र गहुँ लगाउन सकिन्छ । यस वडामा वैशाखमा रोपेको मकै कात्र्तिकमा र मंसिरमा रोपेको गहुँ असारमा पाक्ने स्थानीय हिउँसरी बुढाले बताउनुभयो ।
सिस्ने १ चिसो हुने ठाउँ भएकाले पनि अन्य ठाउँको जस्तो एक वर्षमा दुई बाली उत्पादन नहुने गरेको उहाँको भनाई छ ।