
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ५ रुकुमकोटमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ८ सय ९२ जनाले सेवा लिएका छन् । आइतबार र सोमबार रुकुमकोटमा सञ्चालन गरिएको बाल तथा स्त्री रोग सम्बन्धि शिविरमा एक सय ३७ जना महिला तथा ७ सय ५५ जना विद्यार्थी बालबालिकाको स्वास्थ्य जाँच गरिएको छ ।
सिस्ने गाउँपालिकाको युवा विकास केन्द्रको संयोजनमा नेप्लिज एसोसिएसन अफ फोलोरिडाको आर्थिक सहयोग तथा आयोजनामा पल्मोनरी हाइपरटेन्सन एशोसिएसन नेपाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र ग्लोबल नेप्लिज आइसीटी कोनसोरटिइमको प्राविधिक सहयोगमा रुकुमकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सेवा लिएकामध्येमा १२ जना विद्यार्थी मुटु रोगको शंकास्पद बिरामी फेला परेका छन् । दुई जनाको भने अप्रेसन नै गर्नुपर्ने देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । ७ महिनाका अटम खड्का र ११ वर्षको रेजिना बुढाको मुटुको अप्रेसन गर्नुपर्ने भएको हो । यस्तै १० जनाको पुन स्वास्थ्य जाँच गर्नुपर्ने भएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ ।
यस्तै एक जना महिलाको पाठेघरको मुखको क्यान्सर भएको छ भने पाँच जनामा क्यान्सर शंकास्पद देखिएको डाक्टरले बताएका छन् । पाठेघर खस्ने समस्या ६ जनामा देखिएको छ भने स्तन क्यान्सको शंकास्पद व्यक्ति एक जना भेटिएका छन् । यस्तै रुघाखोकी, सामान्य पेट दुखाइ, कानको समस्या, ज्वरो र ग्यास्ट्रीकका बिरामीलाई औषधी वितरण गरिएको छ । अन्यको अवस्था सामान्य रहेको पाइएको छ ।
शिविरमा आएका सबैलाई आवश्यक सल्लाह सुझाव पनि दिइएको छ । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पि.एच.ए. नेपाल काठमाडौंको डाक्टरहरुले सेवा दिएको युवा विकास केन्द्र सिस्ने गाउँपालिकाले जनाएको छ ।