रुकुम(पूर्व) मा भर्खरै सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्लामा देखिएका हर समस्या समाधानको पहल गर्ने बताउनुभएको छ । बुधबार जिल्लास्थित पत्रकार तथा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस जिल्लामा देखिएका विभिन्न समस्या समाधानको पहल गर्ने बताउनुभएको हो ।

पत्रकार तथा सञ्चारकर्मीसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा पत्रकारले जिल्लामा भएका समस्याहरुको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदै यसमा सहजिकरणको भूमीका खेलिदिन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी सुनुवारले आफु यस जिल्लामा भर्खरै आएको र यस जिल्लाको अवस्था, यहाँको समस्या बुझ्ने क्रममा रहेको बताउनुभयो । जिल्लाको शान्ति सुरक्षादेखि लिएर सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउने काममा कुनै कसर बाकी नराख्ने पनि प्रमुख जिल्ला अधिकारी सुनुवारले प्रतिबद्धता जनाउनुभयो ।

भौगौलिक विकटता भएको यस जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाका मैकोट, पेल्मालगाएतका क्षेत्रका नागरिकलाई नागरिकता प्रदान गर्नको लागि विशेष योजना बनाउने, सिस्ने १ र पुथा उत्तरगंगा गाउँपालिका २ मा प्रहरी पोष्ट स्थापनाको पहल गर्ने, विद्युत, खानेपानी, स्वास्थ्य र सञ्चारलगाएत्को क्षेत्रमा देखिएको समस्या समाधानको लागि पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभएको छ । ढोरपाटन शिकार आरक्ष र पुथाउत्तरगंगा गाउँपालिकाबासी विचको विवाददेखि लिएर सिस्ने ६ मा रहेको बसपार्क सञ्चालनको लागि सहजिकरण गर्ने र बजार अनुगमणको लागि नयाँ आर्थिक र्वादेखि छुट्टै कार्ययोजना बनाएर लाग्ने उहाँको भनाई छ ।

जिल्लास्थित विभिन्न योजनामा हुने गरेको ढिलाई, श्रमीक ठगी, वाल विवाह, बहु विवाहलगाएत कुसंस्कार, विकृती, विसंगतीलाई निरुत्साहित गर्नेगरि योजना बनाई काम गर्ने भनाई प्रमुख जिल्ला अधिकारी सुनुवारले राख्नुभएको थियो । कतीपय समस्या प्रशासनले हल गर्ने छ भने कतीपय समस्या तीनै तहका सरकारसँग समन्वय गरेर भएपनि समाधानको प्रयास गर्ने उहाँले बताउनुभयो । यस अघि रुकुम(पूर्व) मा कृष्णबहादुर खड्का प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । उहाँ सरुवा भएर जानुभएसँगै जिल्लामा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी सुनुवारले जिल्लास्थित विभिन्न निकायसँग भेटघाट तथा छलफलको कार्यक्रमलाई जारी राख्नुभएको छ ।