रुकुम(पूर्व) को भूमे गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेको छ । गाउँसभाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले पस्तुत गर्नुभएको नीति कार्यक्रममा स्वास्थ्य शिक्षा र कृषिलाई सँगसँगै पहिलो प्राथमिकतामा राखेर लैजाने उल्लेख गरिएको छ ।

आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि, सामाजिक विकास, मानव पूँजी निर्माण र रोजगारी सिर्जना, दिगो विकास लक्ष्यमा उल्लेख्य उपलब्धि हासिल, अन्तरआबद्धतामा आधारित पूर्वाधार निर्माण, पर्यावरणीय सन्तुलन, सुरक्षित खानेपानी तथा सरसफाई, ऊर्जामा पहुँच, लगानी आकर्षण, आय असमानता तथा बहुआयामिक गरिबी न्यूनीकरण, गुणस्तरीय सेवा प्रवाह, संघीयताको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।

गाउँपालिकाद्वारा सञ्चालित अस्थायी अस्पतालको सुदृढीकरण, निर्माणाधीन ५ शैय्या अस्पतालको कार्यसम्पन्न तथा व्यवस्थापन, सडक दूर्घटनालाई मध्यनजर गरी मध्यपहाडी लोकमार्ग आसपासमा ट्रमा अस्पताल तथा टेलिमेडिसिन सेवा सञ्चालन गर्न आवश्यक समन्वय र पहल गरिनेछ । द्वन्द्व पीडित, अति विपन्न परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरुको तथ्याङ्क संकलन तथा पुनर्प्राथकिकीकरण गरी निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुका साथै स्वास्थ्य बीमा प्रवर्द्धनात्मक कार्यक्रम समेत सञ्चालन गरिने कुरा नीति कार्यक्रममा समेटीएको छ ।

नसर्ने तथा दीर्घ रोगहरुको पहिचान र निदानका लागि सबै वडामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य सेवाको पहुँच कम भएका टोलहरुमा एकीकृत घुम्ती स्वास्थ्य सेवा सञ्चालन र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । संस्थागत सुत्केरी सेवालाई थप प्रभावकारी बनाउन सुत्केरी भान्छा घर निर्माण तथा सुदृढीकरणमा जोड दिइनेछ । स्थानीय परम्परागत उपचार पद्धतिका ज्ञाता, धामी, झाँक्रीहरुको परम्परागत ज्ञान र विधिको सदुपयोग गर्न स्वास्थ्य तथा पोषण सम्बन्धी जानकारी दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

पालिकाद्वारा सञ्चालित अस्थायी अस्पतालमा हालको सेवामा यू.एस.जी. एक्स–रे सेवाका साथै ल्याब सेवा सञ्चालन गरी रोग निदान तथा उपचारमा सुविधा विस्तार गरिनेछ ।

शिक्षातर्फ शैक्षिक रुपान्तरणका लागि गाउँपालिकाको शिक्षा नीति तथा क्षेत्रगत आवधिक योजना तर्जुमा गरिनेछ । आवश्यकता र अनुकूलतामा आधारित स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।
दक्ष समर्पित जनशक्ति विकासका लागि शिक्षामा बालमैत्री र प्रविधिमैत्री शिक्षाका लागि नमूना विद्यालय निर्माण कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकामै बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन गरी विद्यार्थीहरुलाई प्राविधिक शिक्षा हासिल गर्न टाढा जानुपर्ने र अधिक खर्च गर्नुपर्ने अवस्थालाई क्रमशः घटाउँदै लगिनेछ ।

युद्धकालमा स्थापित शहिद वासु स्मृति नमूना जनवादी विद्यालयलाई जीवन्त संग्रहालयको रुपमा विकास गर्दै शहिद परिवार, अनाथ, अभिभावकविहिन बालबालिकाहरुलाई आवासीय पठनपाठन र आधारभूत विद्यालयमा दिवा कक्षा अध्ययनका लागि व्यवस्था गरिनेछ ।

कृषिमा विविधीकरण, व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणमार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गरिनेछ । कृषक सूचीकरण कार्यक्रममार्फत कृषक पहिचान तथा वर्गीकरण गरी अनुदान सम्बन्धी मापदण्डका आधारमा रैथाने बीउ, उन्नत बीउ, तरकारी किट बीऊ, कृषि औजार, यन्त्र तथा प्रविधिहरु उपलब्ध गराइनेछ ।
एक घर एक करेसाबारी कार्यक्रममार्फत कृषि र पोषणलाई सँगसँगै जोड दिइने छ ।

मारिङ कृषि अनुसन्धान केन्द्रलाई कृषि उद्योग र कृषि पर्यटनको नमूनाको रुपमा विकास गरिनेछ । गाउँपालिका क्षेत्रभित्रका जडिबुटीहरुको पहिचान गरी जडीबुटीमा आधारित उद्योग स्थापनाको लागि पहलकदमी अगाडि बढाइनेछ । स्थानीय परम्परागत भाषा, कला, संस्कृतिको पहिचान, अध्ययन, संवर्द्धन, संरक्षण, विकास र प्रचारप्रसार सामग्री निर्माणमा प्रतियोगितात्मक कार्यक्रम ल्याइनेछ ।

भूमे गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्ययोजना सघन रुपमा कार्यान्वयन गरी नमूना सरसफाइयुक्त गाउँपालिका निर्माण गरिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।