रुकुम (पूर्व) को भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ५३ करोड ४२ लाख १२ हजार ४ सय ५२ रुपैयाँ बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना बुढा मगरले  शुक्रबार गाउँसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको हो ।

कुल विनियोजनमध्ये चालुतर्फ ३३ करोड ६ लाख ४० हजार ४ सय ३० रुपैयाँ रहेको छ भने पूँजीगत तर्फ १९ करोड ३५ लाख ७२ हजार रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७५ लाख ५० हजार २ सय ८२, राजस्व बाँडफाँडबाट १० करोड १५ लाख १ हजार ७० तथा गत वर्षको अनुमानित मौज्दात ३ करोड २२ लाख ६७ हजार गरी आन्तरिक आयबाट जम्मा १४ करोड १३ लाख १८ हजार ३ सय ५२ रुपैयाँ व्यहोरिने भएको छ ।

यसैगरी वित्तीय समानीकरण अनुदानबाट १२ करोड ९४ लाख ७४ हजार, सःशर्त अनुदानबाट २१ करोड १४ लाख र स्थानीय जनसहभागिताबाट ४० लाख रुपैयाँ स्रोत व्यहोरिने पालिकाले जनाएको छ । यसैगरी अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम एक करोड आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

समपुरक अनुदानबाट २ करोड, विशेष अनुदानबाट १ करोड ६० लाख रुपैयाँ व्यहोरिने भएको छ । यस्तै गैरसहकारी संस्थाहरुको कार्यक्रम समेत ३ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सहित बजेट प्रस्ताव प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।