रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ६ छिप्रीदहस्थित त्रिभुवन जनता माविका विद्यार्थीसँग लागु औषध तथा मादक पदार्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६ को अवसर पारेर जिल्ला प्रशासन कार्यालयको आयोजनामा त्रिजमावीका माध्यामिक तहका विद्यार्थीसँग सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा लागु औषध भनेको के हो ? यसका प्रकार तथा प्रयोग कारण पर्न जाने असरका साथै आगु औषध अपराध र यस सम्बन्धि कानुनी व्यवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरिक्षक कृष्ण खत्रीले विद्यार्थीलाई जानकारी गराउनु भएको थियो । पछिल्लो समयमा बालबालिका तथा युवा युवतीहरु कुलततीर फसिरहेको भन्दै प्रहरीले यस्ता कार्यक्रमहरु विद्यालयमा सञ्चालन गर्दा प्रभावकारी हुने भन्दै यसअघि पनि विद्यालयस्तरमा सञ्चालन गर्दै आइरहेको छ ।

आज दिवसको अवसर पारेर त्रिजमावीमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले मादकपदार्थको सेवनले व्यक्तिसँगै घरव्यवहार नष्ट गर्ने बताउनुभयो । विद्यालयस्तरमा कार्यक्रम गर्दा विद्यार्थीमार्फत उनिहरुको घर परिवार र समुदाय सचेत हुने भएकाले कार्यक्रममा आफुले सिकेका कुरा परिवार र समुदायमा गएर सिकाउन पनि उहाँले विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

प्रजिअ सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा नीकायका प्रमुख एवम् प्रतीनिधी, सहायक प्रमुख जिल्ला अधिकारी, विद्यालयका प्रधानाध्यापक, विद्यार्थीको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले गर्नुभएको थियो ।