रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्लास्थित विभिन्न कार्यालयका सुचना अधिकारीहरुलाई सुचना आदानप्रदानलाई व्यवस्थित गराउन आग्रह गर्नुभएको छ । सोमबार जिल्लास्थित विभिन्न सरकारी कार्यालयका सुचना अधिकारीको बैठकमा उपस्थित सबैलाई उहाँले सुचना अभिलेख राख्ने, सुचना अधिकारी तोक्ने तथा प्रत्येक तीनतीन महिनाको फरकमा स्वत सुचना प्रकाशन गर्ने कुरामा लापरबाही नगर्न निर्देशन दिनुभयो ।

जिल्लास्थित कुनै पनि कार्यालयले अहिलेसम्म तीनतीन महिनाको फरकमा सुचना प्रकाशन तथा कार्यालयको वयवसाइटमा अप्डेट गर्ने गरेका छैनन् । केहि कार्यालयले मात्र धेरै समय अघि यस्तो प्रयास गरेपनि अहिले त्यो कार्यलाई निरन्तरता दिन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी सुनुवारले सुचनालाई चुस्तदुरुस्त व्यवस्थित गराउनुपर्ने र प्रक्रियाअनुसार माग भइ आएकादिन मिल्ने सुचनाहरु छिटोछरितो उपलब्ध गराउन कार्यालयका सुचना अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको अध्यक्षतामा बसेको सुचना अधिकारीहरुको बैठकले विभिन्न निर्णयहरु पनि गरेको छ । बैठकले जिल्लास्थित सबै सरकारी कार्यालयले सुचना अधिकारी तोक्ने र पदाधिकारीको नाम, सम्पर्क र फोटोसहितको विवरण फ्लेक्स बोर्डमा उपयुक्त माध्यामद्धारा सार्वजनिक गर्ने र सुचना अधिकारी परिवर्तन भएमा तत्कल अध्यावधिक गरि प्रशासनमा पठाउने निर्णय गरेको छ । साथै सुचना अधिकारीको लागि सबै सरकारी कार्यालयहरुमा मोबाइल फोन र सिमको व्यवस्था गर्न लगाउने निर्णय गरिएको छ ।

यसको लागि सबै सरकारी कार्यालयलाई पत्राचार गर्ने साथै एकै किसिमको मोबाइल नम्बरको लागि नेपाल टेलिकमलाई अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै २०७९ साउन १५ गतेभित्र कार्यालयका कामकाज तथा गतिविधिहरु सबै कार्यालयले स्वत प्रकाशन गरि वयवसाइटमा राख्ने र प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय गरिएको छ ।