मनसुन सुरु भएसँगै निम्तिने प्राकृती विपत्तिबाट बच्न रुकुम(पूर्व) मा आवश्यक तयारी थालिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समिति संयोजक तुलाराज सुनुवारको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी विपद प्रतिकार्यको लागि विभिन्न निर्णयहरु गरिएको छ ।
जिल्लाको तीन वटै गाउँपालिकाको विभिन्न ठाउँमा मनसुनको समयमा हुन सक्ने जोखिम, राजमार्ग अवरोध तथा प्राकृतिक विपत्ती हटाउन स्काभेटर, डोजर र यम्बुलेन्स सबै स्थानीय तह, विकास निर्माण गर्ने निकाय, साझेदार संस्था र निर्माण व्यवसायीहरुले चालु अवस्थामा राख्ने निर्णय विपद व्यवस्थापन समितिको बैठकले गरेको छ । यस्तै मनसुन आपतकालीन कार्यायोजना २०७९ अनुसार विपदको सामना गरिने छ भने जिल्ला प्रशासन कार्यालयमा रहेका विपद प्रतिकार्य सामाग्री जिल्लास्थित सुरक्षा निकायलाई वितरण गर्ने निर्णय गरिएको छ ।
यस्तै विपद प्रतिकार्य कार्ययोजना २०७९÷८० लाई आउदो साउन २५ गतेभित्र तर्जुमा गरिसक्ने र त्यसको लागि सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको अध्यक्षतामा १० सदस्यीय मस्यौदा तर्जुमा समिति निर्माण गरिएको छ । यस समितिमा आवश्यकताअनुसार विज्ञहरुलाई आमन्त्रण गर्न सकिने छ । प्राकृती तथा मनसुनजन्य प्रकोपको कारण घरजग्गा क्षती भई प्रहरी मुचुल्का, सम्बन्धित स्थानीय तह, वडाको सिफारिसको आधारमा २४ जनालाई वितरण गरिएको रकम अनुमोदन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ ।
जिल्लामा प्राकृतीक विपदका ठुला घटना भइहालेमा उद्धारको लागि आवश्यक सामाग्री पर्याप्त नभएकाले आवश्यक सामाग्री खरिद गरिने भएको छ । यस जिल्लाको विपद अवस्था र भौगोलिक विकटताअनुसार प्रत्येक पालिकामा हेलिप्याड र नाइटभिजन बस्न सक्ने स्थानको पालिकाले एकिन गर्ने र स्थान निर्माणको क्रममा प्राविधिक सहयोग तथा व्यवस्थापन नेपाली सेनाले सहयोग गर्ने निर्णय गरिएको छ । केन्द्रिय प्रशारण लाइनको विद्युतमा देखिएको अनियमिततालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणलाई रुकुम(पश्चिम) धैरेनीचौर सव स्टेशन देखि विद्युत लाइन विस्तार रगर्न साथै फिडर निर्माण गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकमा तीन वटै स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतीनधिहरुको उपस्थिती रहेको थियो । बैठकको सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी हिराला आचार्यले गर्नुभएको थियो ।