रुकुम(पूर्व) मा आज १९ औ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । यस वर्ष जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, सिस्ने गाउँपालिका, युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टर र हुरेड कार्सको संयुक्त आयोजनामा “धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने नाराका साथ १९ औ राष्ट्रिय धान दिवस मनाइएको हो ।
सिस्ने गाउँपालिका वडा नम्बर ६ को ढकालबारामा धान रोपेर दिवस मनाइएको छ । यस कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख उपस्थिती रहेको थियो । यसैगरी प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यसँगै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुुख एवम् प्रतीनिधी, किसानको उपस्थिती थियो । उहाँहरु सबैजनाले खेतमै पुगेर धान पनि रोप्नुभएको छ ।
एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको अगाडीबाट सुरु गरिएको प्रभातफेरी ढकालबारामा गएर टुङ्गिएको थियो । कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जिल्लामा हालसम्म ६० प्रतिशत धान रोपेर सकिएको बताउनुभएको छ । यस जिल्लामा मकै र गहुँपछि उत्पादन हुने तेस्रो प्रमुख खाद्यान्न बाली धान रोपाई ६० प्रतिशत सम्पन्न भइसकेको प्रमुख बस्नेतले बताउनुभयो । उहाँकाअनुसार यस जिल्लामा धान खेती हुँदै आइरहेको कुल एक हजार ४ सय १९ दशमलव ४२ हेक्टर क्षेत्रफलमध्यमा अहिलेसम्म ६ सय ८१ दशमलव ३२ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।
यस जिल्लामा गत वर्ष धानको उत्पादन ३ हजार ७ सय ३३ दशमलव ०७ मेट्रिक्टन रहेकोमा उत्पादकत्व २ दशमलव ६३ मेट्रिक्टन रहेको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । कार्यालयका अनुसार रुकुम(पूर्व) मा भने विगतका वर्षको तुलनामा पछिल्ला वर्षमा धान खेती कम हुँदै गएको छ । युवा शक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमिन विस्तारै घडेरीमा परिणत हुनु, धान बालीको लागत खर्च बढी हुनु, आकाशे पानीमा निर्भर र सिंचाईको अवस्था कम हुनु, सिंचाईको व्यवस्था नहुँनु र सिमित व्यक्तिको हातमा धेरै जमिन र जग्गाको खण्डीकरण हुनुलगाएतका कारणहरु धान उत्पादनमा असर पुर्याउने कारणहरु रहेको कार्यालयका प्रमुख बस्नेतले बताउनुभएको छ ।
नेपालले वि.सं २०६१ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउदै आएको छ ।