रुकुम(पूर्व) मा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले सञ्चालन गरेका विभिन्न योजनाहरुको संयुक्त अनुगमण गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको प्रमुख उपस्थितीमा कार्यालयले सिस्ने गाउँपालिकाको ३, ५ र ६ नम्बर वडामा सञ्चालन गरेका विभिन्न योजनाहरुको संयुक्त अनुगमण गरिएको हो ।
शनिवार बिहान सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबारामा रहेको अनिसा भैसीपालन फर्मको अनुगमण गरिएको छ । उक्त फर्मले गोठ सुधारमा ७५ प्रतिशत र गड्यौले मल उत्पादनको लागि शत प्रतिशत अनुदान प्राप्त गरेको थियो । सिस्ने ६ नम्बर वडाको ढकालबारामा जस्विन कृषि तथा पशुपन्छि पालन फर्ममार्फत सञ्चालन गरिएको संरक्षित संरचनामा प्राङ्गारिक तरकारी खेती, जैविक÷प्रङ्गारिक मल प्रदर्शन कार्यक्रमको अनुगमण गरिएको छ ।
यस्तै सिस्नेको ३ नम्बर वडामा मौरी ब्लक विकास कार्यक्रम र मकै मिसन कार्यक्रमको अनुगमण गरिएको छ । यस्तै अन्य विभिन्न योजनाहरुको पनि अनुगमण गरिएको छ । अनुगमणको क्रममा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको पाइएको छ । अनुगमणको क्रममा सभामुख घर्तीले किसानले अनुदानबाट उदाहरणीय काम गरेको बताउनुभएको छ । उहाँले भैसी पालन गरिरहेकालाई रुकुमकोटमा मागअनुसारको दुध उत्पादन गरेर आर्थिक आयस्रोत बढाउन आग्रह गर्नुभएको छ भने तरकारी खेती गर्नेहरुलाई पनि बजारको मागअनुसारको उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ ।
यस्तै सिस्ने ३ नम्बर वडा मौरीको उर्वर क्षेत्र भएको बताउदै सभामुख घर्तीले मौरी ब्लक कार्यक्रम सञ्चालन भएको यो ठाउँमा सिजनमै पनि मह नपाइने समस्याको अन्त्य गर्नतीर जोड गर्नुपर्ने बताउनुभयो । साथै उहाँले वास्तविक किसानले प्रक्रिया पुर्याएर सरकारले व्यवस्था गरेको अनुदान प्राप्त गरेर त्यसको सहि रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि हामीकहाँ टुक्रे उत्पादनमा आधारित खेती प्राणाली रहेको बताउदै यसको अन्त्य गर्नुपर्ने भनाई उहाँको थियो । कृषिमा आधुनिकता, व्यवसायिकतालाई जोडेर लैजानुपर्नेमा उहाँको जोड थियो ।
यस्तै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सरकारको लगानीलाई किसानले खेर फाल्न नहुने बताउनुभयो । गाउँमा एउटा किसानले गरेको उदाहरणीय कामबाट उसको सिको गर्दै समाज नै उदाहरणीय बन्ने भन्दै प्रजिअ सुनुवारले किसानले खेती प्रणालीलाई व्यवसायिकतामा ढाल्नुपर्ने बताउनुभयो । किसानले गरेको कामको प्रशंसा गर्दै उहाँले यस्ता कामकाजलाई निरन्तरता दिन पनि आग्रह गर्नुभएको छ ।
अनुगमणको क्रममा किसानले सिंचइ, घाँस, मौरीको लागि चरणक्षेत्र अभाव, स्टोर रुमको अभावलगाएतका समस्याहरु रहेको बताएका थिए भने यीनी समस्या समाधानको लागि सरोकारवाला निकायलाई आग्रह पनि गरेको थिए । संयुक्त अनुगमणमा सभामुख घर्ती र प्रजिअ सुनुवारसँगै एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, सुरक्षा तथा सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनीधि, पत्रकारको उपस्थिती रहेको थियो ।