रुकुम(पूर्व) मा सामाजिक सवालमा पत्रकारिता सम्बन्धि तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा सोमबारबाट तालिम सुरु भएको छ । यो तालिम दुई दिनसम्म चल्ने छ । तालिमको सोमबार एक औपचारिक कार्यक्रमका बिच सिस्ने गाउँपाकिा अध्यक्ष कृष्ण रेग्मिले उद्धघाटन गर्नुभएको छ ।

युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ रुकुम शाखाको समन्वय तथा नेपाल जनजागरण मञ्च र मिक नेपालको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो । अहिलेको परिवेशमा पत्रकारहरुले राजनीतिक विषयलाई जोडबलका साथ उठाएर कलम चलाइरहेको अवस्थामा सामाजिक सरोकार राख्ने अन्य विषयवस्तुलाई पनि त्यसरी नै कसरी उठाउन सकिन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यका साथ रुकुम(पूर्व) का पत्रकार तथा सञ्चारकर्मीहरुको लागि यो तालिमको आयोजना गरेको आयोजकहरुले बताएका छन् ।

तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्षसमेत रहनुभएका कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले गरिरहनुभएको छ । तालिममा लगभग दुई दर्जन पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिम उद्धघाटन कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले पत्रकार राज्यको चौथो अंग भएको बताउदै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्न तालिममा सहभागीलाई आग्रह गर्नुभएको छ ।

पत्रकारितामा पछिल्लो समय विकृती फैलिएको बताउदै अध्यक्ष रेग्मिले त्यस्ता विकृतीबाट टाढै रहेर कलम चलाउन र तालिममा सिकेको कुरालाई भरपुर रुपमा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले पत्रकारको कलममा समाजलाई सहि दिशामा ल्याउने तागत हुने बताउनुभएको छ । यसकारण पनि पत्रकारले सत्य र तथ्यमा आधारित भई निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताउनुभयो ।

नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिकोे प्रमुख, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार र सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, मिक नेपालका अध्यक्ष धनबहादुर बुढालगाएतको पनि आतीथ्यता रहेको थियो । युएमएनका टिम लिडर शिवप्रसाद अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सर्जना कार्कीले गर्नुभएको थियो ।