रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा निर्मानाधिन अवस्थामा रहेको ढल निकासको काममा रन्जित रन्जनको त्रुटी देखिएको छ । चालु आर्थिक वर्षमा छिप्रीदह–सेराखेत ढल निकासको कामको जिम्मा पाएको निर्माण व्यवसायी रन्जित रन्जन कन्स्ट्रक्सन प्राली गुल्मिले प्रभावकारी रुपमा काम नगरेको पाइएको हो ।

अनुगमण समितिका संयोजकसमेत रहनुभएका सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको संयोजकत्वमा गरिएको संयुक्त अनुगणको क्रममा रन्जित रन्जनले ढलको पाइप जडानमा त्रुटी गरेको पाइएको छ । उसले चालु आर्थिक वर्षमा भ्याटबाहेक एक करोड ३७ लाख बजेटमा पाँच सय ५ मिटरमा ढल निकासको जिम्मा पाएको थियो । २०७८ माघमा सम्झौता गरि काम सुरु गरेको प्रालीले अन्य ठाउँमा राम्रो काम गरेपनि सेराखेतमा ढलको पाइपलाई राम्रोसँग नजोडेको पाइएको छ ।

पाइप राम्रोसँग नजोडिएको कारण सेराखेतमा ढलबाट गएको पानी खेतमा निस्किएको छ । त्रुटी देखिएको ठाउँमा ढलको पाइप तत्काल जडान तथा मर्मतकार्यको लागि निर्माण व्यवसायीलाई छिटो सम्पर्कमा ल्याउने र मर्मतकार्य सुचारुको पत्राचार गर्न कार्यालयलाई निर्देशन गरिएको छ ।

यहि छिप्रीदह–सेराखेत ढल निकासको लागि तीन आर्थिक वर्षमा भ्याटबाहेक ३ करोड ६१ लाख खर्च भएको सिस्ने गाउँपालिकाका इन्जिनीयर कर्ण केसीले जानकारी दिनुभयो । अहलिेसम्म एक हजार ४ सय दुई दशमलव ५ मिटरमा ढल निकासको काम गरिएको छ । इन्जिनीयर केसीकाअनुसार सुरुको अर्थात आर्थिक वर्ष २०७६÷७७ सालमा उपभाक्ता समितिमार्फत एक करोड १३ लाखमा ३ सय ३८.५ मिटरमा ढल निकासको काम गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा सि.एम.–इन्द्रदेवी–पि.वी.जेभि काठमाडौंले ५ सय ६० मिटरमा भ्याटबाहेक एक करोड ११ लाखले काम गरेको थियो ।

छिप्रीदहको दहबाट सुरु भएको ढल निकासको काम अहिले सेराखेतसम्म सकिएको छ । अब यसलाई धाउने पुर्याएर ट्रिटमेन्ट प्लान्ट बनाई सानीभेरीमा छोडिने गाउँपालिकाका इन्जिनीयर केसीले बताउनुभएको छ ।