रुकुम(पूर्व) को भूमे गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि गाउँपालिकालाई बुधबार एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना घोषणा गरिएको हो । “पूर्ण खोप सुनिश्चितता भूमे गाउँपालिकको शान, पूर्ण खोप दिगोपना निरन्तर अभियान” भन्ने नारासहित बुधबार गाउँपालिकालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको हो ।

१६ देखि २३ महिना सम्मका तीन सय ११ जना बालबालिकाले नियमित १२ प्रकारका खोप पाएपछि गाउँपालिकालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष सबै बालबालिकाले नियमित खोप पाएपछि भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको थियो । गत वर्ष गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेपछि यस वर्ष प्रत्येक घरमा पुगि बालबालिकाले खोप हालसम्म नियमित पाइरहेका छन् या छैनन् भन्ने सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणको गर्ने क्रममा सबैले नियमित खोप पाइरहेको अवस्था भेटिएपछि पालिकालाई पूर्ण खोप दिगोपना घोषणा गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेपछि त्यसको दिगोपनामा चुनौती हुदाहुँदै पनि सबै बालबालिकालाई नियमित खोपको पहुँचमा पुर्याउन सफल भएको बताउनुभयो । खोपले बालबालिकालाई सुरक्षित गराउने बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि आफ्ना बालबालिकालाई खोपको पहुँचमा पुर्याउन अभिभावकलाई आग्रह गर्नुभएको छ ।

भुमेलाई पूर्ण कोभिड १९ खोपयुक्त पालिका पनि घोषणा गरियो

रुकुम(पुर्व) को भूमे गाउँपालिकालाई आजै पूर्ण कोभिड १९ खोपयुक्त गाउँपालिका पनि घोषणा गरिएगवको छ । गाउँपालिकाको केन्द्र खाबाङ बगरमा आज भूमेलाई पूर्ण खोप दिगोपना र पूर्ण कोभिड १९ खोपयुक्त गाउँपालिका एकैपटक घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका १८ वर्ष माथिका सबै लक्षित जनसंख्यालाई पहिलो र दोस्रो मात्राको कोभिड १९ विरुद्धको खोप लगाएपछि पालिकालाई पूर्ण कोभिड १९ खोपयुक्त पालिका घोषणा गरिएको हो । भूमे गाउँपालिकामा कोभिड १९ विरुद्धको खोप लगाउने १८ वर्ष माथीको लक्षित जनसंख्या १३ हजार ४ सय ९३ थियो । हालसम्मका अवधिमा यस लक्षित जनसंख्याको ९८.५ प्रतिशत नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाएपछि गाउँपालिकालाई पूर्ण कोभिड १९ खोपयुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक संजिव खड्काले जानकारी दिनुभयो ।

१८ वर्षभन्दा कम र १२ वर्षभन्दा माथीका बालबालिकालाई भने अहिले खोप लगाउने अभियान चलिरहेको उहाँले बताउनुभएको छ । गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको पूर्ण खोप दिगोपना र पूर्ण कोभिड १९ खोपयुक्त पालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, गाउँपालिका उपाध्यक्ष सविना बुढा, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठ, स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरी, कोल्ड चेन निरीक्षक मनोज श्रेष्ठलगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले गर्नुभएको थियो ।