रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले एकै पटकमा एक सय २६ जना कर्मचारीको माग गरेको छ । गाउँपालिकाले यहि असार २९ गते बसेको गाउँकार्यपालिकाको निर्णयअनुसार ३० गते एक सुचना जारी गर्दै सेवा करारमा यती ठुलो संख्यामा कर्मचारीको माग गरेको हो । गाउँपालिकाले १५ दिने म्याद राखी योग्यता पुगेका व्यक्तिलाई गाउँपालिकाको करार कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ को ढाँचामा दरखास्त पेश गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मेडिकल अधिकृत, रेडियोग्राफी असिस्टेन्टसहित अहेव र अनमी गरि १९ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार कृषि तथा पशु सेवातर्फ १० जना, शिक्षातर्फ माध्यामिक तहमा १० जना कर्मचारीको दरखास्त आह्वान गरिएको छ । यस्तै निम्नमाध्यामिक तहमा ३१ जना, प्राथमिक तहमा ४१ जना र प्रारम्भिक बाल विकास सहजकर्ता १५ जना गरी जम्मा एक सय २६ जना कर्मचारीको दरखास्त आह्वान गरिएको लेखा प्रमुख खड्काले बताउनुभयो ।
यस्तै रोजगार सेवा केन्द्रतर्फ एक जना कर्मचारीको दरखास्त आह्वान गरिएको छ । पहिलो चरणमा शिक्षा, स्वास्थ्य, कृषि र पशुतर्फको कर्मचारी व्यवस्थापन गर्न दरखास्त आह्वान गरेको गाउँपालिकाले दोस्रो चरणमा अन्य क्षेत्रको कर्मचारी व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ । पुथा उत्तरगंगाले यस अघि गाउँपालिकामा नियुक्त भएका करार कुनै पनि कर्मचारीको असार मसान्त भन्दा पछि नविकरण नगर्ने निर्णय गररेको थियो । सोहि निर्णयअनुसार गाउँपालिकाले पुराना करार कर्मचारीको नविकरण नगर्ने र प्रतिस्पर्धाबाट सबै नयाँ कर्मचारी व्यवस्थापन गरेर काम गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।