रुकुम(पूर्व) लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “स्थानीय स्रोतको स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ शनिबार रुकुम(पूर्व) लाई पूर्ण खोप सनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी माविको हलमा आयोजना गरिएको एक कार्यक्रमका बिचमा लुम्बिनी प्रदेशका सांसद तेजबहादुर ओलीले पानसमा बत्तिल बालेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा समारोहको उद्धघाटन गर्नुभएको थियो ।

गत वर्षको असोज १३ गते रुकुम(पूर्व) लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसकोे करिब एक वर्षपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएका हो । रुकुम(पूर्व) मा जन्मेदेखि १२ महिनासम्मका एक हजार एक सय १९ जना र १२ देखि २३ महिनासम्मका एक हजार एक सय ९७ जना बालबालिका छन् ।

खोप लगाउने लक्षित कूनै पनि बालबालिका खोप लगाउनबाट छुटेका छन् की छैनन् भनेर जिल्लाको तीन वटै गाउँपालिका र स्वस्थ्य कार्यालय रुकुम(पूर्व) ले गरेको सर्वेक्षणमा कुनै पनि बालबालिका खोप लगाउनबाट छुटेको नपाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जनाएको छ ।

जिल्लास्थित सबै वडा कार्यालयले बस्तिबस्तिमै पुगेर सर्वेक्षण गरेका थिए भने गाउँपालिका र स्वास्थ्य कार्यालयले जिल्लाको केहि ठाउँमा नमुनाको रुपमा सर्वेक्षण गरेका थिए । स्वास्थ्य कार्यालयले नमुनाको रुपमा जन्मेदेखि १५ महिनासम्मको एक हजार ४ सय ६२ जनामा र १६ देखि २३ महिनासम्मका ९ सय ६४ जनामा सर्वेक्षण गर्दा कुनै पनि बालबालिका छुटेको पाइएको छैन् ।

नेपालमा २०३४ सालदेखि रुपन्देहि, सिन्धुपाल्चोक र धनुषाबाट खोप लगाउने कार्यक्रम सुरु भएको हो । कार्यक्रम समारोहको क्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान पत्रमार्फत सम्मान पनि गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख एवम् जिल्ला खोप समन्वय समिति संयोजक मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओलीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढागाएत वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतीनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निीसीयन निमप्रसाद गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक श्याम चौधरीले गर्नुभएको थियो ।