रुकुम(पूर्व) मा रहेको रुक्मिणी बचत ऋण तथा सहकारी संस्थाले रुकुमकोटको विभिन्न ठाउँमा डस्टबिन राखेको छ । आज गाउँपालिकाका जनप्रतिनिधिको प्रमुख उपस्थितमा सहकारीले रुकुमकोटको मुख्य मुख्य ठाउँहरुमा डस्टबिन राखेको हो ।

सहकारीले समुदाय विकास कोषमा बचत गरेको ६२ हजारको लागतमा फलामको डस्टबिन विभिन्न ठाउँमा राखेको हो । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, रुक्मिणी बचत ऋण तथा सहकारी संस्थाका पूर्व अध्यक्ष एवम् जिल्ला सहकारी संघका हालका अध्यक्ष बसन्तकुमार श्रेष्ठलगाएत युवा, स्थानीयको उपस्थितीमा डस्टबिन राखिएको हो । गाउँपालिका उपाध्यक्ष रेउले भने आर्फ रुक्मिणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ ।

आज कमलदह परिसरमा दुई वटा, ५ नम्बर वडा कार्यालय अगाडी एउटा, चोकबजार, छिप्रीदह, जिल्ला प्रशासन कार्यालय र रुकुम(पूर्व) अस्पतालमा एकएक वटा गरी ८ वटा डस्टबिन राखिएको सहकारीका अध्यक्ष रेउलेले बताउनुभयो । मुख्य बजार क्षेत्र र पर्यटकिय स्थलमा आहोरदोहोर तथा घुम्ने मानिसहरुले जथाभावी फोहोर फाल्ने गरेको पाइएकाले बजार क्षेत्र र प्रमुख पर्यटकिय स्थलको सरसफाईलाई ध्यानमा राख्दै सहकारीमार्फत डस्टबिन विभिन्न ठाउँमा राखेको अध्यक्ष रेउलेले बताउनुभएको छ ।

यस्तै रुकुमकोट लगाएत अन्य विभिन्न क्षेत्रमा आवतजावत तथा घुमफीर गर्ने क्रममा जथाभावी फोहोर नगर्न पनि सबैलाई आग्रह गरिएको छ । आज विभिन्न ठाउँमा डस्टबिन राख्ने क्रममा यसको निशुल्क ढुवानीको व्यवस्था सिस्ने ५ का व्यापार व्यवासायी केशव थापाले गर्नुभएको थियो ।