रुकुम(पूर्व) को सदरमुकाममा रहेको बसपार्क सञ्चालनमा आउने भएको छ । सिस्ने गाउँपालिकास्थित काजिन्दामा रहेको बसपार्कलाई यहि साउनको ७ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । रुकुमकोटको बजारमा भइरहेको अस्तव्यस्त पार्किङलाई व्यवस्थित बनाउन भन्दै दुई वर्ष अघि अर्थात २०७७ सालमा निर्माण गरिएको बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।
विभिन्न बाहाना देखाउदै यातायात व्यवसायीले बसपार्क जान नमान्ने र सम्बन्धित निकायले पनि काडाईका साथ पहल लिन नसक्दा दुई वर्षसम्म प्रयोग विहिन भएको बसपार्क साउनको ७ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारसँगै स्थानीय सरकारको पहलमा बसपार्कलाई सञ्चालनमा ल्याउन लागिएको हो । केहि दिन अघि मात्रै प्रशासनमा स्थानीय सरकारका प्रतिनिधि, जिल्ला समनवय समिति, होटेल व्यवसायी संघ, यातायात व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको बैठक बसेर ७ गतेभित्र बसपार्क सञ्चालनमा ल्याउने सहमती भएको थियो ।
सोहि सहमतीअनुसार शनिबार बसपार्कमा सफाईको काम गरिएको छ । ७ गते बसपार्क सञ्चालनमा ल्याइएन भने प्रशासनले छिप्रीदहबाट उठाएरै लैजाने प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभएको छ । अस्तव्यवस्त पार्कीङले निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै छिटो भन्दा छिटो बसपार्क सञ्चालनमा ल्याउने पहल थालेको उहाँले बताउनुभयो ।
बसपार्क सञ्चालनमा आउने खबरले नागरिकहरु पनि खुसी भएका छन् । बसपार्क सञ्चालनमा आएसँगै रुकुमकोटको मुख्य बजार क्षेत्रमा जथाभावी हुँदै आएको पार्कीङ व्यवस्थित हुने अपेक्षा गरिएको छ । बसपार्क प्रयोगमा नआउदा अहिले छिप्रीदह, चोकबजार, कमलदह क्षेत्रतीर गाडी चालकहरुले सडकको छेउछाउ, बजारमै गाडि पार्कीङ गर्दै आएका छन् । यसले गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।
अब भने बसपार्क सञ्चालनमा आएपछि सबैलाई सहज हुने होटेल व्यवसायी संघ रुकुम(पूर्व) का अध्यक्ष विनोद केसीले बताउनुभएको छ ।