![](https://mulukpati.com/wp-content/uploads/2022/07/tyanki.jpg)
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले विपद प्रभावित क्षेत्र ३ नम्बर वडाको पोखरामा अनुगमन गर्नुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख प्रकाश न्यौपाने, वडा अध्यक्ष हेराम खड्का, गाउँपालिकाका इन्जिनियर कर्णबहादुर के।सी, अधिकृत छैटौ अरुण ओली लगायत अन्य कर्मचारीसहितको उपस्थितीमा अध्यक्ष रेग्मीले प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो ।
संयुक्त अनुगमन टोलीले वडा कार्यालय भवन र भेरीखोला पोखरा खानेपानी टयाङकीको अनुगमन गरेको छ । पहिरो जन्य प्रकोपको उच्च जोखिममा रहेको बस्तीलाई क्षति हुनबाट बचाउन तत्कालिन र दीर्घकालीन उपायहरु के हुन सक्नछन भन्ने विषयमा अनुगमन टोलीले छलफल गरेको छ । बुधवार दिउसो गाउँ माथिबाट खसेको ढुङगाले खानेपानी टयाङकीमा क्षति पुर्याएको थियो । गाउँ देखि झण्डै एक किलोमिटर माथिबाट पहाड टुक्रिएर आएको ढुङगा लागेर पोखरा खानेपानी टयाङकी पूर्ण रुपमा क्षति गरेको छ ।
गाउँमा वितरण गर्न संकलन गरिने खानेपानी टयाङकी ढुङ्गाले भत्काएपछि खानेपानी समस्या बढेको वडा अध्यक्ष हेराम खड्काले बताउनुभयो । सोहि टयाङकीबाट साविक पोखरा गाविसका १ र ४ नम्बर वडाका दुई सय ५ घरधूरीमा पानी वितरण हुदैँ आएको थियो । ढुङ्गाले टयाङकी भत्काएपछि बुधबार देखि एक घर एक धाराको पानी पूर्ण रुपमा बन्द भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर केसीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार अहिले मुहानबाट आएको पानीलाई पुरानो टयाङकीमा जम्मा गरी पहिले निर्माण गरेका पुराना धाराबाट खानेपानी वितरण सुरु भएको छ । आपनै घर आगनमा पानी भर्न बानि परेका पोखरेलीलाई पानी ल्याउन लाइन लाग्नु पर्ने समस्या थपिएको छ ।
पुनः पोखराका घरघरमा खानेपानी पुर्याउन वर्षा हटे लगतै नयाँ ट्याङकी निर्माण गर्ने अध्यक्ष रेग्मीले प्रतिवद्धता जनाउनु भएको छ । खानेपानी कार्यालयको बजेटबाट ट्याङकी निर्माण गर्न सुरु गरिने रेग्मीले बताउनुभयो । खानेपानीको बजेटले नपुगे गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाई छ ।
यस्तै ३ नम्बर वडा कार्यालयको भवन तत्काल मर्मत गर्न अध्यक्ष रेग्मीले निर्देशन दिनुभएको छ । केहि हप्ता अघि माथिबाट झरेको ढुङगा लागेर वडा कार्यालय भवनमा आंशिक क्षति पुगेको थियो ।