रुकुम(पूर्व) को उत्तरगंगा नदिमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगंगा वारपार गर्ने सवारी साधन ठप्प छन् । बर्षात सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारी साधन उत्तरगंगा नदि वारपार गर्न छोडेपछि स्थानीयहरु समस्यामा परेका छन् ।
अहिले झन उत्तरगंगना नदिको बहाव झन बढेको छ । अहिले रुकुमकोटबाट तकसेराको लागि जाने गाडिहरु तल्लो सेरासम्म जाने गरेका छन् भने गाडिमा गएका मानिसहरु उत्तरगंगा पारिपट्टीबाट अर्को गाडि फेरेर तक र त्यसभन्दा उथापट्टीका क्षेत्रमा जानुपर्ने अवस्था रहेको पुथाउत्तरगंगा गाउँपालिका १० की दिलु बुढाले बताउनुभयो । उहाँकाअनुसार बाइक र पैदल यात्रीहरु भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् ।
पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ । अहिले तकसेरामा सडक पुगेको १० वर्ष पुरा भइसकेको छ । तर अहिलेसम्म पुल नहुँदा उत्तरगंगा वारपारको अवस्था सहज नभएको स्थानीयले बताएका छन् ।
मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको छ तर उत्तरगंगा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ । यस वर्ष पनि उत्तरगंगाको बहाव बढेसँगै उत्तरगंगा पारिपट्टी चल्ने सवारी साधनको लागि तकसम्म पुग्ने गाडिले तेल ढुवानी गरिदीएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताउनुभयो ।
यो सहिद मार्गअन्तर्गतको रुकुम पूर्व–रोल्पा–दाङ सडक खण्डको पुथाउत्तरगंगामा मुख्य सडक हो । पुल निर्माणका लागि डीपीआर भइसकेको थियो । तर, हालसम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल बनाउने प्रक्रिया सुरु भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । तर अब भने छिटै पुल निर्माणको प्रक्रिया सुरु हुने पनि अध्यक्ष घर्तीले बताउनुभएको छ ।
पुल निर्माणका लागि डीपीआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेराबिचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो ।