रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले पूर्वाधार यम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बर्खाको समयमा हुने सानातिना विपत्तीको तत्काल प्रतिकार गर्ने उदेश्यले पूर्वाधार यम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । गएको साताबाट सुरु गरिएको पूर्वाधार यम्बुलेन्स सेवामार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले बताउनुभयो ।

पूर्वाधार यम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ । अध्यक्ष रेग्मिकाअनुसार एक जना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एकएक जना चालक र अन्य तीन जना कमदारी खटाइएको छ । यो टीमले गाउँपालिकाभित्रको जुनसुकै ठाउँमा बाढी÷पहिरो जादा र कोहि कसैको घरमा क्षती भयो भने तत्काल सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा क्षतीको विवरण संकलन गर्ने छ भने सडक पुगेको जुनसुकै ठाउँमा पनि पहिरो झरेर यातायात सेवा अवरुद्ध भएको खण्डमा तत्काल यातायात सेवा सुचारु गर्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो ।

गाउँपालिका भित्र हुने सानातीना सबै खाले विपदका घटनाहरुमा सहयोगको लागि यही यम्बुलेन्स समुहको टोली सहयोग गर्न पुग्ने गाउँपालिकाले जनाएको छ । ठुलै घटना भएको खण्डमा भने गाउँपालिकाको अन्य टिमसहित जिल्लाको टोली पनि खटिने छ ।

बर्खाको समयलाई मध्यनजर गर्दै साउन भदौ महिनाको लागि यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रभावकारी हुँदै गएमा सेवा अवधि थप गर्ने पनि गाउँपालिका उपाध्यक्ष रेउलेले बताउनुभएको छ ।