
रुकुम(पूर्व) मा आर्थिक वर्ष २०७८÷७९ मा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । गएको आर्थिक वर्ष अर्थात एक वर्षको अवधिमा जिल्लाको विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परी ६ जना पुरुष र दुई जना महिला गरी जम्मा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफीक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यहि अवधिमा ८ महिला र २० जना पुरुष गरि २८ जना घाइते भएको ट्राफीक प्रमुख ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्षमा जिल्लाको विभिन्न ठाउँमा १६ वटा सवारी दुर्घटनामा परेका थिए । मोटरसाइकल ५ वटा, ट्याक्टर ७ वटा, स्कार्पीयो ३ वटा र टिप्पर एक वटा दुर्घटनामा परेका थिए । यस जिल्लामा वर्षेणी सवारी दुर्घटना र मृत्यु तथा घाइते हुनेको संख्या बढ्दै गएको ट्राफीक प्रमुख खत्रीले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷७८ मा भने जिल्लामा सवारी दुर्घटनाको संख्या १४ थियो । उक्त आर्थिक वर्षमा ४ जना पुरुषको मृत्यु भएको थियो भने १८ पुरुष र १३ महिला गरी जम्मा ३१ जना घाइते भएका थिए ।