रुकुम(पूर्व) मा नयाँ १० वटा मतदान स्थल थपको सिफारिस गरिएको छ । जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा १० वटा नयाँ मतदान स्थल थप गर्न निर्वाचन आयोगमा माग गर्ने निर्णय गरिएको हो । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस जिल्लाको भौगोलिक विवकटतालाई मध्यनजर गर्दै पुथा उत्तरगंगा गाउँपालिकामा ४ वटा, भूमे गाउँपालिकामा ४ वटा र सिस्ने गाउँपालिकामा २ वटा मतदान स्थल थपको लागि निर्वाचन आयोगमा माग गरि पठाउने निर्णय गरिएकोे मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका सदस्य सचिव एवम् जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । उहाँकाअनुसार पुथा उत्तरगंगा गाउँपालिकाको १ नम्बर वडाको हार्दीबाङ, ५ नम्बर वडाको काजरजंग, ७ नम्बर वडाको जाङ र ११ नम्बर वडाको दमचनमा मतदान स्थल थपको माग गरि पठाउने निर्णय गरिएको छ ।
यसैगरी भूमे गाउँपालिकाको ६ नम्बर वडा नाखे, ७ नम्बर वडाको गुनाम, ८ नम्बर वडाको कुचिबाङ र ९ नम्बर वडाको सिमचौरका साथै सिस्ने गाउँपालिकाको १ नम्बर वडाको भट्टेचौर र ७ नम्बर वडाको नाथीगाडमा मतदान स्थल थपको माग गरि पठाउने निर्णय गरिएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो । रुकुम(पूर्व) भौगोलिक विकटता भएको जिल्ला भएकाले यहाँका बस्तिहरु छरिएर रहेका छन् । भोट हाल्नको लागि मतदान स्थल तथा केन्द्रमा पुग्न नागरिकहरुलाई धेरै समय पनि लाग्ने गरेको छ ।
यहि समस्यालाई मध्यनजर गर्दै नयाँ ठाउँमा मतदान स्थलको माग गरि पठाइएको छ । रुकुम(पूर्व) मा अहिलेसम्म ३५ वटा मतदान स्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । अब संघ र प्रदेशको चुनाव जुनसुकै बेला घोषणा हुन सक्ने सम्भावना रहेको बेलामा मतदाता नामावली बनाउने काम पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभएको छ ।