रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा रहेको सेफ हाउसबाट दुई वर्षको अवधिमा दुई सय ९५ जना हिंसा पिडितले सेवा लिएका छन् । २०७६ सालमा स्थापना भई २०७७ साल असोजबाट सेवा प्रवाह सुरु गरेको सेफ हाउसबाट बितेका दुई आर्थिक वर्षमा रुकुम(पूर्व)सँगै रुकुम(पश्चिम), रोल्पा र भोजपुरका गरी दुई सय ९५ जना हिंसा पिडितले सेवा लिएको सेफ हाउसकी मनोविमर्शकर्ता सुगन्धा मल्लले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा मात्र एक सय ५३ जना हिंसा पिडितले सेफ हाउसबाट सेवा लिएका थिए । जसमा १८ वर्षमुनीका बालबालिका मात्र ४२ जना थिए । त्यतीबेला शारिरिक हिंसाका ४४, मानसिक हिंसाका ७८ जना, रेफ केसका १२ जना, सम्बन्ध विच्छेदका ११, स्रोतसाधनबाट बञ्चित र आर्थिक कारोबारका तीनतीन जना, बालश्रम र अन्य एकएक जना हिंसा पिडितले सेफ हाउसबाट सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभएको छ ।

उहाँकाअनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक सय ३९ जना हिंसा पिडितले सेवा लिएका छन् । जसमा शारिरिक हिंसाका ५४ जना, मानसिक हिंसाका ३५ जना, रेफ केसका १० जना, सम्बन्ध विच्छेदका ११ जना पिडितले सेफ हाउसबाट सेवा लिएका छन् । यसैगरी स्रोत साधनबाट बन्चित ११ जना, आर्थिक कारोबारका १ जना, वाल विवाहका दुई जना, अंस भागबण्डाका ४ जना, जबरजस्ति विवाहका २ जना, बहुविवाहका ३ र अन्य ६ जना पिडितले सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो ।

उनिहरुमा कतीपयले एक पटक सेवा लिएका छन् भने कतीपयलाई फलोअपमा पनि सेवा प्रदान गरिएको छ । सेफ हाउसले गाउँपालिकामा रहेको न्यायिक समिति, वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, रुकुमकोट जिल्ला अदालत, रुकुम(पूर्व) अस्पतालमा रहेको ओसीएमसी, महिला संजाल आदीसँग समन्वय गरेर काम गरिरहेको छ । दुई वर्षमा सेफ हाउसबाट सेवा लिनेको यो संख्यालाई हेर्दा रुकुम(पूर्व) जस्तो जनसंख्या थोरै भएको ठाउँमा हिंसाका घटनाहरु डरलाग्दो क्रममा धेरै हुने गरेको मनोविमर्शकर्ता मल्लले बताउनुभयो ।

यहि अवधिमा एक जना रेफ केस पिडित किशोरीलाई सेफ हाउसबाट उद्धार गरि माइती नेपालमा पढ्नको लागि पठाइएको छ । गाउँपालिकाको हिंसा निवारण कोषबाट ४ जना हिंसा पिडित महिलालाई आर्थिकोपार्जनको लागि प्रतीव्यक्ति १० देखि २० हजारसम्म आर्थिक सहयोग गरिएको छ भने ५ जना हिंसा पिडित बालबालिकालाई सेफ हाउसको समन्वयमा सिद्धार्थ सामाजिक विकास केन्द्र र यूनीसेफमार्फत पठनपाठनको लागि प्रतीव्यक्ति ३ देखि ७ हजारसम्मको आर्थिक सहयोग गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

यस नयाँ आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भने एक जना शारिरिक र दुई जना मानसिक गरि ३ जना हिंसा पिडितले सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभएको छ ।