रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार यम्बुलेन्स सेवा प्रभावकारी देखिएको छ । गाउँपालिकाले दुई साता अघिबाट पूर्वाधार यम्बुलेन्समार्फत कामकाज गरिरहेको छ । यो बर्खाको समयलाई मध्यनजर गर्दै सिस्नेले सञ्चालनमा ल्याएको पूर्वाधार यम्बुलेन्स सेवाकै कारण अहिलेको बर्खाको समयमा नागरिकको सडक यात्रा सहज बनेको छ ।
पूर्वाधार यम्बुलेन्स सेवाकै कारण अहिले सडक यात्राको क्रममा ठाउँठाउँमा झरेको पहिरोले धेरै सताउन नपाएको सिस्ने गाउँपालिका ३ का लाकेन्द्र खड्काले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतका वर्षमा बर्खा सुरु हुने बित्तिकै पोखराबाट रुकुमकोटसम्म आउदा पैदल हिडन्पर्ने बाध्यता हुन्थ्यो । या त बर्खाको भेलले चिरेको बाुलुवाको बाटो हुँदै घुडा कुच्याएर बाइकको यात्रा गर्नुपथ्र्यो ।” अहिले भने पहिरो झर्ने बित्तकै र भेलले सडक चिरा पर्ने बित्तिकै गाउँपालिकाको पूर्वाधार यम्बुलेन्स सेवामार्फत पहिरो हटाउने र सडकमा परेका खाल्डाखुल्डि पुर्ने कामले आफुहरुलाई निकै सहज भएको खड्काको भनाई छ ।
विगतको वर्षमा बर्खा लागेसँगै असोजको महिनासम्म अवरुद्ध हुने रुकुमकोट धाउने सडक खण्ड अहिले निरन्तर रुपमा सञ्चालनमा छ । यस्तै सिस्ने गाउँपालिकाको हिउदयाममा चल्ने सबै सडकहरु अहिले पनि सञ्चालनमै रहेको गाउँपालिकाले जनाएको छ । बर्खाको समयमा नागरिकले खेप्ने सास्तीलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको पूर्वाधर यम्बुलेन्स सेवा प्रभावकारी रहेको प्रतिक्रिया आउने गरेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो ।
पूर्वाधार यम्बुलेन्समार्फत अहिलेसम्म मध्यपहाडि लोकमार्गसँगै रुकुमकोट–धाउने सडकखण्ड, रुकुमकोट–बालुवा सडकखण्ड, छिप्रीदह–पाखागाउँ सडकखण्डको विभिन्न क्षेत्रमा बेलाबेलामा झर्ने पहिरो हटाउने र सडक सुचारु गर्ने गरिएको अध्यक्ष रेग्मिले बताउनुभयो । पूर्वाधार यम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ । अध्यक्ष रेग्मिकाअनुसार एक जना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एकएक जना चालक र अन्य तीन जना कमदारी खटाइएको छ ।
यो टीमले गाउँपालिकाभित्रको जुनसुकै ठाउँमा बाढी÷पहिरो जादा र कोहि कसैको घरमा क्षती भयो भने तत्काल सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा क्षतीको विवरण संकलन गर्दै आएको छ ।