रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङ्मा उत्पादीत लसुनले उचित मुल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्र समेत रहेको चुनबाङ्मा उत्पादन भएको लसुनले उचित मुल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मुल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ पर्छ । चुनबाङ्का लसुन उत्पादक किसानले भने प्रतिकिलो ५० मा लसुन बिक्रि गर्दा दुख नउठ्ने भन्दै प्रतिकिलो एक सय दरले लसुन बिक्रि गर्न चाहन्छन् ।
किलोलाई एक सय रुपैयाँ दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको लसुन घरघरमा थुप्रीएको च्याङचुङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो । अहिले आफुले मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको बताउनुभयो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको उहाँले अहिले भने उत्पादन घटेको बताउनुभयो । केहिको लसुन उत्पादन गत वर्षको तुलनामा अहिले घटेपनि समग्रमा भने गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको छ । अहिलेको वर्षमा उचित मुल्य नपाएकै कारण कत्ती पनि लसुन बिक्रि नभएको किसान खड्काले बताउनुभयो ।
उहाँकाअनुसार अहिले चुनबाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हारहारीमा लसुन छ । लसुनले उचित मुल्य र बजार नपाएको भन्दै उहाँले अर्को वर्ष लसुन लगाउने क्षेत्र घटाएर मोटो कला लगाउने योजना बनाएको समेत सुनाउनुभयो । यस्तै चुनबाङकै स्थानीय एवम् पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मुल्यमा दिने किसानको लसुन बिक्रि भइसकेको बताउदै बजार मुल्यभन्दा बाहिरको लसुन बिक्रि हुन नसकेको बताउनुभयो । बजारमा चलेको मुल्यमा दिने हो भने गाउँभरीको सबै लसुन संकलन गरिदिने पनि उहाँले बताउनुभएको छ । बजारमुल्य भन्दा महंगो हाले लसुन संकलन गर्न भने नसकिने उहाँको भनाई ।
यस वर्ष चुनबाङमा ४ सय ३२ दशमलव ३५ मेट्रिक्टन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार यो उत्पादन गत वर्षको तुलनमा १२ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । रुकुम(पूर्व) को ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।