रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले वडा नम्बर ६ मा रहेको श्रीजना आधारभूत विद्यालय उखुबारी र नव बिहानी आधारभूत विद्यालयमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा शिक्षालाई पहिलो प्राथमिकता राखेर नीति तथा बजेट पास गरेको गाउँपालिकाले शैक्षिक तथा भौतिक सुधारको अवस्था, विद्यालयमा देखिएका समस्याको बारेमा अवगत हुन विद्यालयको अनुगमणसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अनुगमनका क्रममा विद्यालयका शिक्षकहरुले विभिन्न किसिमका तालिम लगाएत पर्याप्त शैक्षिक सामाग्रीको माग राख्दै समय समयमा यसरी अनुगमनमा आएर सल्लाह सुझाव दिन आग्रह गरेका छन् । त्यस्तै नव बिहानी आधारभूत विद्यालयको कोठा भत्किएकोले उक्त भवन मर्मतको लागि विद्यालयले आग्रह गरेको छ । विद्यालयमा देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै समस्याको हल गर्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले बताउनु भयो । अध्यक्ष रेग्मिले शिक्षामा सुधार गर्न गाउँपालिकाको पहिलो प्राथमिकता भएकोले विद्यालयमा देखिएका समस्यलाई गाउँपालिका र विद्यालयको समन्वयमा हल गर्दै जाने उहाँको भनाई रहेको छ ।
जग बलियो भएमा मात्रै घर बलियो हुने भन्दै शिशु कक्षा देखिनै बालबालिकाको मनोविज्ञान बुझेर बालबालिकाहरुलाई अध्यापन गराउन शिक्षकहरुलाई आग्रह गर्दै अध्यक्ष रेग्मीले शिक्षक पेशा जागिर मात्रै नभइ सामाजिक दायित्व पनि भएको बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष गोपाल रेउलेले आफूपनि पहिले लामोसमय विद्यालयमा बालबालिकाहरुसँग रहेको अनुभव सुनाउदै शैक्षिक र व्यावहारिक ज्ञानहरु सिकाउनुपर्ने बताउनुभयो । बालबालिकाहरुलाई सरसफाइ, बोलचाली र लवाईखुवाई लगाएत हरेक कुराको ज्ञान सिकाउन आग्रह गर्दै हरेक शिक्षकले मैले गर्नुपर्ने जिम्मेवारी केहो भनेर बुझ्न जरुरी रहेको बताउनुभयो । विद्यालायमा अध्ययनरत ससम्पुर्ण बालबालिकाहरुलाई शिक्षकहरुले सक्रिय भएर आफ्नै छोराछोरी सम्झेर अध्यापन गराउनुपर्ने भनाई उहाँको छ । त्यस्तै गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले शिक्षकहरुलाई नियमित उपस्थित हुन र नियमित हाजिर लगाउन सुझाव दिनुभएको छ ।
अनुगमनमा अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष रेउले, ६ नम्बर वडाका अध्यक्ष पुर्णजङ मल्लको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले गर्नुभएको थियो ।