रुकुम(पुर्व)को सिस्ने गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न स्थलगत अनुगमण गरिरहेको छ । गाउँपालिकाले विभिन्न वडामा रहेका सामुदायिक विद्यालयहरुमा विद्यालयको शैक्षिक र भौतिक अवस्थाको बारेमा जानकारी लिनको लागि विद्यालय अनुगमणको कार्यलाई तिव्रता दिएको छ । सोमबार सिस्ने गाउँपालिका ६ का विभिन्न विद्यालयमा अनुगमण गरेको गाउँपालिकाले मंगलबार सिस्ने गाउँपालिका ३ नम्बर वडाको दुई वटा विद्यालयमा अनुगमण गरेको छ ।

यस वडाको आधारभूत सौजन्य विद्यालय पांगा र जनता माध्यामिक विद्यालय पोखरामा अनुगमण गरिएको हो । अनुगमणको क्रममा सौजन्य आधारभूत विद्यालयमा शिक्षक दरबन्दि आवश्यकताअनुसार नभएको, शैक्षिक सामाग्री नभएको, भौतिक संरचना अभाव र भएका पनि जिर्ण रहेको पाइएको छ । विद्यार्थीको बसाई पनि अस्तव्यस्त रहेको पाइएको अनुगमण टोलीले जनाएको छ । यस्तै सबै विद्यार्थीलाई पुरा किताब पनि उपलब्ध नभएको कारण पठनपाठन पनि प्रभावित भएको पाइएको छ ।

यस्तै जनता माध्यामिक विद्यालय पोखरामा अनुगमण गर्दा यहाँ केहि भौतिक संरचनाहरु जिर्ण रहेको र विद्यार्थीहरु पानी चुहिने भवनमा बसेर पढ्ने गरेको पाइएको छ । यो समस्या समाधानमा गाउँपालिकाले जोड दिने बताएको छ ।

विद्यालय अनुगमणपछि सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले देखिएका समस्यालाई समाधान गर्न गाउँपालिका लागि पर्ने बताउनुभएको छ । गाउँपालिकाले चालु अुार्थिक वर्षको नीति कार्यक्रममै शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउदै अध्यक्ष रेग्मिले समग्र गाउँपालिकाको शैक्षिक सुधारको लागि स्थलगत अनुगमण गरेर आवश्यकताअनुसार कार्ययोजना बनाउने उदेश्यले अनुगमणको कार्य अघि बढाएको बताउनुभयो । विद्यालयमा देखिएको भौतिक संरचना, शिक्षक दरबन्दि, आवश्यक शैक्षिक सामाग्री व्यवस्थापनमा गाउँपालिकाले जोड दिने अध्यक्ष रेग्मिले बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले विद्यालयहरुमा देखिएका समस्यालाई समाधान गर्न गाउँपालिकाले हर प्रयास गर्ने बताउनुभयो । अहिले पहिलो चरणमा विद्यालयको स्थलगत अनुगमण गरेर भौतिक, शैक्षिक अवस्था बुझनुका साथै आवश्यक सल्लाह सुझाव दिने गरेको बताउनुभयो । दोस्रो चरणको अनुगमण गर्न फेरी विद्यालयमा पुग्दा अहिले दिएकोे सल्लाह सुझावअनुसार सुधार गर्न विद्यालयलाई निर्देशन दिनुभएको छ ।

गाउँपालिका अध्यक्ष रेग्मिको नेतृत्वमा गएको अनुगमण टोलीमा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नरेन्द्र ओली, ३ नम्बर वडाध्यक्ष हेराम खड्कालगाएतको उपस्थिती रहेको थियो ।