रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाको सबै वडा सचिव बिहिन छन् । स्थानीय सरकार स्थापना भएदेखि नै गाउँपालिकाको १४ वटै वडा सचिव विहिन छन् । सुरुदेखि नै सचिव बिहिन बनेका वडाहरुमा स्वास्थ्य चौकी इन्चार्जहरुले पञ्जिकरणको काम गर्दै आएका छन् ।

वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ । वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन् । त्यसमा वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इन्चार्जहरुले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पुथा उत्तरगंगा गाउँपालिका ५ का वडाध्यक्ष एवम् गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताउनुभयो । कतीपय वडामा झन कागजात तयारको काम कार्यालय सहयोगिले पनि गर्दै आएको उहाँ बताउनुहुन्छ ।

प्रवक्ता घर्तीकाअनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नम्बर वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवम् मैकोट स्वास्थ्यचौकीका इन्चार्ज समिर गिरीले गर्दै आउनुभएको छ । १२ नम्बर वडा गाउँपालिकाको केन्द्र देखि नजिकै रहेको र गिरी गाउँपालिकाको स्वास्थ्य संयोजक भएको कारण प्राय तकसेरामा बस्नुहुन्छ । वडा नम्बर १, २, ३, ४ र ९ नम्बरका नागरिकहरु वडाबाट सिफारिस लगाएत अन्य कागजातमा हस्ताक्षर गराउनुपर्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन् । मैकोट गएको खण्डमा मैकोटबाट झर्नेबेलासम्म १२ नम्बर वडाका नागरिकहरुले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले बताउनुभयो ।

प्रवक्ता घर्तीकाअनुसार गाउँपालिकाको ५ र ६ नम्बर वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जिकरणको काम गर्दै आउनुभएको छ । ७ र ८ नम्बर वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नम्बर वडामा स्वास्थ्यचौकी तकसेराका इन्चार्ज कलिभान विष्ट र १४ नम्बर वडामा स्वास्थ्यचौकी राङ्सीका इन्चार्ज सरोज यादवले पञ्जिकरणको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । वडाबाट हुने पञ्जिकरण देखि दिएर अन्य सबै कामको कागजपत्र वडा सहायक र कार्यालय सहयोगिले तयार पर्ने र स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्यचौकी इन्चार्जको हस्ताक्षर लिएर आवश्यक कामको लागि गाउँपालिका, प्रशासनमा धाउने पिडादायिक अवस्था पुथा उत्तरगंगा गाउँपालिकाबासीमा रहेको पुथा उत्तरगंगा गाउँपालिका २ का जिताराम कामीले बताउनुभयो ।

यत्रो दुख गरेर वडा सहायक र कार्यालय सहयोगिले गरेको सिफारिस नमिल्दा दोहोरा दुख पाउने गरेको गुनासो उहाँ सुनाउनुहुन्छ । भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुई देखि तीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यहि सिफारिस नमिल्दा फेरी सिफारिस बनाउन तीन दिन लगाएर मैकोट÷पेल्मा फर्कनुपर्ने अवस्था रहेको छ । “सडक सुविधा नभएको, सञ्चारको पहुँचबाट टाढा रहेका यहाँका नागरिकले वडा, गाउँपालिका, प्रशासनबाट पाउने सेवाको लागि धेरै कष्ट गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “भौगोलिक विकटता भएको पुथा उत्तरगंगा गाउँपालिकाको कतीपय नागरिकलाई त आफ्नै वडा पुग्न पनि एक दिन लाग्छ ।” यस्तो अवस्थामा वडाबाट हुने कामकाज पनि अर्मचारी अभावमा सहि तरिकाले नभइदिदा दाहोरो समस्याको मारमा नागरिकहरु पर्ने गरेको उहाँको भनाई छ ।

यता गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले स्वास्थ्यचौकी इन्चार्जले पञ्जिकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताउनुभयो । स्वास्थ्यतर्फका नियमित कामकाज गर्दै पञ्जिकरणको काम सम्हाल्दा निकै सकस पर्ने गरेको उहाँले सुनाउनुभयो ।

वडाहरु सचिव विहिन हँुदा पञ्जिकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । वडा सचिव नहुँदाखेरी नै यस गाउँपालिका भित्रका धेरै नागरिकको समयै मृत्यु दर्ता, जन्मदर्ता, विवाह दर्ता नहुने गरेको पाइएको छ । कतीपय नागरिकले उमेर पुगेर पनि वडाबाट आवश्यक कागजात नबन्दा सामासजक सुरक्षा भत्ताबाट समेत बञ्चित हुनुपरेको पाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । यी सब समस्या वडामा वडा सचिव नहुँदा निम्तिएको समस्याहरु भएको गाउँपालिकाले जनाएको छ । गाउँगाउँमा सिहं दरबार पुगेपनि सेवाको लागि कर्मचारी नहुँदा यस क्षत्रका नागरिकले संघियताको अनुभव गर्न खासै नपाएको अध्यक्ष घर्तीको भनाई छ ।

भुगोलले पनि ठगेको यस क्षेत्रमा कर्मचारी माग गर्दा मन्त्रालयले पनि कर्मचारी नपठाउने र आएका कर्मचारी पनि धेरै नटिक्ने समस्या छ । रुकुम(पूर्व) को विभिन्न क्षेत्रमा आउने कतीपय कर्मचारी यहाँ सेवा गर्न भन्दा बढुवाको लागि हिमाली जिल्ला भनेर नम्बर बढाउन मात्र आउने गरेको गुनासो नागरिकहरुबाट बेलाबेलामा सुनिन्छ ।

यस गाउँपालिकामा स्थानीय तहको चुनाव भइसकेपछि सुरुको वर्षमा १० नम्बर वडामा मात्र एक जना सचिव आएको र उहाँ पनि दुई चार महिना बसेर जानुभएको थियो । त्यपछि आजका दिनसम्म यस गाउँपालिकामा एक जना पनि वडा सचिव आएका छैनन् । पहिलो कार्यकायलको स्थानीय सरकारले एक पटक दरबन्दिअनुसारको कर्मचारी माग गरि मन्त्रालयमा पठाएको थियो । कर्मचारी नपठाएपछि त्यसपछि भने गाउँपालिकाले कर्मचारी माग गर्नै छोड्यो । अहिले नयाँ जनप्रतिनिधि आएपछि भर्खरै मात्रामा गाउँपालिकाको रिक्त रहेको पदमा कर्मचारी माग गरि पठाएको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभएको छ

गाउँपालिका पनि विगत तीन वर्ष यता निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा चलेको छ । अहिले गाउँपालिकामा निमित्ति प्रमुख प्रशासकिय अधिकृत सहित लेखा, कृषि, पशु, शिक्षा, कम्यूटर अपरेटरमा एकएक जना मात्र स्थायी कर्मचारी छन् । उनिहरु पनि सबै निमित्त हुन् । प्राविधिक शाखा सबै खाली छ । स्वास्थ्यमा २३ जना स्थायी कर्मचारी रहेका छन् ।

यस्तै गाउँपालिकाले गएको पाँच वर्षे कार्यकालमा भर्ना भएका सबै करार कर्मचारीको सम्झौता नविकरण गरेको छैन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नविकरण नगरेको गाउँपालिकाले अहिले सबै कर्मचारी नयाँ भर्ना गरिरहेको छ । पहिलो चरणमा गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रको लागि एक सय २६ जना करार कर्मचारीको माग गरेको थियो । अहिले यी क्षेत्रमा कर्मचारी व्यवस्थापनको लागि परिक्षाको काम चलिरहेको गाउँपालिकाले जनाएको छ । अन्य रिक्त विभिन्न पदमा पनि गाउँपालिकाले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ ।