रुकुम(पूर्व) मा हावाहुरीले मकै बालीमा क्षती पुर्याएको छ । जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुँरीले क्षती पुर्याएपछि किसानहरु चिन्तित बनेका हुुन् । शुक्रबार र शनिबार रातीको वर्षासँगैको हावाहुरीले मकैबालीमा क्षती पुर्यापछि किसानहरु समस्यामा परेका हुन् ।
हावाहुरीको कारण यसपाली लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका वडा नम्बर ५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताउनुभयो । किसानले लगाएको सबै मकै ढलेपछि ६ महिना धकेल्ने अन्नको सत्यानाश भएको बाहोराले दुखेसो सुनाउनुभयो ।
यस्तै भूमे गाउँपालिकाको ९ नम्बर वडामा पनि हावाहुरीले मकै बालीमा ठुलो क्षती पुर्याएको छ । यस वडाको च्याङचुङमा अहिले कतै पनि ठाडो मकै देख्न नसकिने गन्जु खड्काले बताउनुभयो । वर्षासँगैको हावाहुरीले मकै सखाप त पार्यो नै । वर्षाको कारण गोठ भत्किादा उहाँकै खड्का बहुउदेश्यि कृषि फर्ममा पालिएका गाईबाख्राको भागाभाग मच्चिएको खड्काले बताउनुभयो । च्याङचुङमै दलबहादुर खड्का र विमला खड्काको घर पनि पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो ।
भूमे गाउँपालिका ८ को कुचिबाङमा पनि हावाहुरीको कारण मकै बाली सखापै छ । कुचिबाङमा यसअघि नै पहिरोले खानेपानीको मुहानमा क्षती पुर्याउदा आकाशको पानी संकलन गरेर पिउन त्यहाँका नागरिक बाध्य छन् । शुक्रबार र शनिवारको वर्षाले विद्युत आयोजनामा क्षती गर्दा गाउँ नै अन्धकार भएको त्यहाँका स्थानीयले बताएका छन् । कुचिबाङ खोला लघु जलविद्युत आयोजनाको नहरमा पहिरोले क्षती पुर्याएको छ भने पोल ढलेका छन् । तार पनि चुडिएका छन् ।