रुकुम(पुर्व) को सानीभेरी नदिमा र्याफ्टीङ सञ्चालनमा ल्याइने भएको छ । सिस्ने गाउँपालिकाले आउदो मंसिरको महिना भित्र सानीभेरी नदिमा र्याफ्टीङ सञ्चालनमा ल्याउने भएको हो । अहिले र्याफ्टीङको लागि सिस्ने गाउँपालिका ६ स्थित धाउने तरबरा भन्ने ठाउँमा र्याफ्टीङको लागि टिकट घर निर्माण भइरहेको छ ।

पर्यटन क्षेत्रको विकासको लागि गाउँपालिकाले सानीभेरीमा र्याफ्टीङ सञ्चालनमा ल्याउन लागेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो । उहाँकाअनुसार तरवरामा प्रदेशको पर्यटन विभागको गत आर्थिक वर्षको १५ लाख बजेटबाट टिकट घर निर्माणको काम भइरहेको छ । अहिले टिकट घरको प्लष्टरको काम चलिरहेको गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभयो । दशै अघि टिकट घर निर्माणको काम सकेर ढिलामा मंसिरको महिनाभित्रमा सानीभेरी नदिमा र्याफ्टीङ सञ्चालनमा ल्याउने योजना गाउँपालिकाको रहेको उहाँको भनाई छ ।

र्याफ्टीङको लागि आवश्यक सामाग्रीहरुको माग गरिसकेको गाउँपालिकाले जनाएको छ । सानीभेरीमा तरवरादेखि रुकुम पश्चिमको कुनाखेतसम्मको करिब ८ किलोमिटरमा र्याफ्टीङ सञ्चालन गर्ने अध्यक्ष रेग्मिले बताउनुभयो । र्याफ्टीङको लागि तीन जनालाई एक महिने तालिमको लागि नेपालगञ्ज पठाएको र उनिहरु तालिम लिएर रुकुमकोटमा फर्किसकेको उहाँले बताउनुभयो । गएको वर्षमा सानीभेरीमा र्याफ्टीङको सम्भाव्यता अध्ययन गरिएकोमा सम्भाव्यता अध्ययन सफल भएको थियो ।

चालु आर्थिक वर्षको नीति कार्यक्रममा पनि र्याप्mटीङ सञ्चालनलाई गाउँपालिकाले नीति कार्यक्रममा समेटेको छ भने ४ लाख बिजेट पनि बिनियोजन गरेको पालिका अध्यक्ष रेग्मिले बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना बोकेको यस जिल्लामा पहिलो पटक र्याफ्टीङ सञ्चालनमा ल्याउन लागिएको हो । यसबाट पर्यटन क्षेत्रको विकास हुनुको साथै आन्तरिक र बाहय पर्यटकलाई भित्र्याउने उदेश्य गाउँपालिकाको छ । यसबाट जिल्ला नै आर्थिक हिसाबले समृद्ध बन्ने अपेक्षा गरिएको छ ।