रुकुम(पूर्व) मा निर्माण भइरहेको जिल्लाकै सबै भन्दा ठुलो विद्युत आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट ५ मेगावाट विद्युत उत्पादन गरिदै छ ।

विद्युत आयोजना निर्माणको काम राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ । अहिलेसम्म हाइड्रोको स्टक्चर निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । टा«न्समिसनको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रवन्धक रिक्की क्षेत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । पावर हाउस निर्माणको काम पनि अन्तिम चरणमा छ । इलेक्ट्रोमेकानीकलको काम चलिरहेको क्षेत्रीको भनाई छ ।

यस आयोजनाको सुरुदेखि काम सकिदासम्मको लागत खर्च एक अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई मंसिरको मसान्त भित्र पूर्णता दिनेगरी काम भइरहेको परियोजनाका सहायक प्रवन्धक क्षेत्रीले बताउनुभयो । बिचमा कोभिडको कारण काममा केहि असर परेको बताउै क्षेत्रीले मंसिर मसान्त भित्र आयोजनाको काम सकेर हस्तान्त्रण गर्ने योजनाका साथ काम गरिरहेको क्षेत्रीले बताउनुभयो । रुकुम(पूर्व) मा उत्पादन गरिएको यो ५ मेगावट विद्युत रुकुम(पश्चिम) का धैरेनीचौरमा रहेको सव स्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

रुकुम गाड जलविद्युत आयोजना संचालन भए विद्युत अनियमिताका कारण झेल्नु परेको समस्या समाधान हुनेमा सर्वसाधारण आशावादी छन् । हुन त अहिले पनि जिल्लाको विभिन्न ठाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत छ भने अन्य साना लघु जलविद्युत योजनाहरु पनि छन् । केन्द्रिय लाइनको बिजुली सामान्य हावाहुरी र वर्षा हुदा झ्याप्प झ्प्याप्प जाने समस्या छ । अहिले विद्युत अनियमित हुँदा दुरसंचार सेवा, ईन्टरनेट, स्थानिय व्यापारी लगायतलाई समस्या भएको छ । विद्युतकै कारण लिफ्ट आयोजना सञ्चालन हुन नसक्दा खानेपानीको समेत समस्या खड्किएको रुकुम(पूर्व) का विकास विसीले बताउनुभयो ।

रुकुमगाड खोला जलविद्युत आयोजनाले पूर्णता पायो भने रुकुम(पूर्व) जिल्लासँगै रुकुम(पश्चिम) मा पनि विद्युत सेवा नियमित हुनेमा आफु आशावादी रहेको सिस्ने गाउँपालिका ५ की टिका पुन शाहले बताउनुभएको छ ।