रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न ठाउँमा यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरमार्फत सञ्चालन गरिएका योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाको १० र ११ नम्बर वडाको विभिन्न ठाउँमा परियोजनामार्फत सञ्चालन गरिएका कार्यहरुको संयुक्त अनुगमन गरिएको हो । जिल्लास्तरीय संयुक्त अनुगमन टोलीले गाउँपालिकाको ११ नम्बर वडामा जिविकोपार्जनकोे लागि सक्षम परियोजनामार्फत वितरण गरिएको बाख्रा पालनको अनुगमन गरिएको छ ।
परियोजनाले सुरुमा जिविकोपार्जनको लागि ३३ जनालाई २० हजारको दरले बाख्रा, बंगुर, भेडा, र टनेल वितरण गरिएको थियो । त्यहि २० हजारको दरले वितरण गरिएको बाख्राबाट अहिले किसानले १५÷१६ वटा बनाएका छन् भने बंगुरबाट एक लाखको आम्दानी गरिसकेका छन् । यस्तै दिगो वातावरण तथा आर्थिक विकास (सिड) परियोजनामार्फत १० र ११ नम्बर वडामा सञ्चालन गरिएका कार्यक्रमको अनुगमन गरिएको छ । १० नम्बर वडामा चेबाङ कृषक समुहले गरेका सरसफाई सम्बन्धिका कामकाज र ११ नम्बर वडा दमचनमा नमुना कृषक समुहले गरेको विभिन्न कामको अनुगमन गरिएको छ ।
यसैगरी सक्षम परियोजनाले गाउँपालिकामा बाल क्लब, किशोरी, हामा समुह संजाल र वडामा क्लब, किशोरी समुह र आमा पमुह गठन गरेर बालबालिकाको क्षेत्रमा काम गरिरहेको छ । बालबालिकाको क्षेत्रमा भइरहेको कामकाज र त्यसको प्रभाव तथा समस्या, चुुनौतीको विषयमा बालबालिका र आमा समुहमा आबद्धसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रमको क्रममा बालबालिकाले आफुले गरेको कामको बारेमा जानकारी गराएका थिए भने काम गर्ने क्रममा देखिएका समस्या तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए ।
यसमा सरोकारवाला निकायहरुले पनि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । अनुगमण टोलीमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, अनुसन्धानका डिएसपी संजिव चौधरी, डिभिजन वन कार्यालयका प्रमुख तिेन्द्रसिंह खड्का, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्याव्यन इकाई रुकुम(पूर्व) रोल्पा कार्यालयका प्रमुख मित्रलाल पौडेल, एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरका टोली प्रमुख शिव प्रसाद अधिकारी, नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक कुसारी, पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीलगाएतको उपस्थिती रहेको थियो ।