रुकुम(पूर्व) मा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको कार्य सुरु भएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र संघको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया ७७ वटै जिल्लामा आजबाट सुरु भएको जनाएको छ । सोहि क्रममा आज रुकुम(पूर्व) मा पनि संकलित मतदाताको नामावली अद्यावधिक तथा दाबी विरोध र यसमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य साउन २० गते स्थगन गरेको थियो । निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको हो । जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू कार्यक्रममा समावेश गरिएको जानकारी गराउनुभयो ।

जिल्लाका तीन स्थानीय तहमा यही भदौ १० गते देखि १२ गतेसम्म जिल्ला, पालिका र वडासम्म मतदाता नामावली टाँस गर्ने ओलीले जानकारी दिनुभयो । निर्वाचन अधिकारी ओलीका अनुसार भदौ १३ देखि १५ गतेसम्म प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पूर्ण मतदातालाई जानकारी गराइने छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यस जिल्लामा स्थानीय तहको निर्वाचनमा कुल मतदाताको संख्या ३३ हजार पाँच सय १८ रहेको थियो । त्यसपछि लभगग एक हजारको हारहारीमा नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन अधिकारी ओलीका अनुसार मंसिर ३ गते १८ वर्ष पुग्नेहरुको संख्या प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७ हजार ९ सय ७१ र क्षेत्र नम्बर २ मा १६ हजार ५ सय ८४ गरि जम्मा ३४ हजार पाँच सय ५५ मतदाता रहेका छन् ।