नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्रि दलजित शेर्पालीले माओवादीको आधार इलाकालाई जोगाईराख्नुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समितिको छैठौ पूर्ण बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै जनयुद्धको आधार इलाकालाई जिवन्त बचाइराख्नुपर्ने बताउनुभयो । आधार इलाकालाई बचाइ राख्नको लागि मेहनत गर्न भने आवश्यक रहेको उहाँको भनाई छ ।

पछिल्लो समयमा जिल्लामा भएको भेला कार्यक्रमको क्रममा कार्यकर्ता र आम नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा जनस्तरबाट आएका सल्लाह, सुझाव एवम् प्रतिक्रियाहरुले आफुलाई गम्भिर बनाएको बताउनुभयो । “रुकुममा माओवादीलाई कुनै पनि हालतमा हार्ने छुट छैन् ।” नेता शेर्पालीले भन्नुभयो, “रुकुममा प्रदेश र प्रतिनिधि सभाको चुनावमा जित सलबलाइरहेको मैले देखेको छु ।” जनता नै निर्णायक शक्ति हुन् यसको लागि नेताहरु जनतामाझमा फर्कनुपर्ने धारणा राख्नुभयो ।

रुकुम जनयुद्धको आधार इलाका भएको कारण माओवादी केन्द्रको यहाँको हार र जितले देशभरमा नै ठुलो प्रभाव पार्ने बताउदै नेता शेर्पालीले त्याग, तपस्या, बलिदानबाट यो स्थानमा पुगेको पार्टीको महत्व रुक्मेली जनताले बुझेको पनि उहाँको भनाई छ । चुनावमा एक ढिक्का भएर लाग्न पनि उहाँले आम कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीको एकता भित्र विजय भएको धारण उहाँले राख्नुभएको थियो ।